Saturday, March 27, 2021

होलिको शुभकामना !

धुस्रे-फुस्रे नभन 
त्यो मैलो गाउँलेहरुको पृय रंग हो 
आफ्नै माटोले रंगाएको ।

पसिनाका लेग्रालाई- छि ! नभन 
त्यो मेहनतको सजीव चित्र हो 
ग्रामीण मसीले कोरिएको । 

 तिमी पो कलरफुल शहरमा छौ ! 
चिटिक्क लुगा लगाएर, 
टिलिक्क टल्काउँछौ रंगहरु । 

हाम्रा त रंगहरु भनेकै 
हरिया फाँटहरु हुन् 
पहेंला तोरिबारीहरु हुन् 
फूलबुट्टे पाखाहरु हुन् ।

यहाँका आँखाहरु निरीह रंगका हुन्छन् 
यहाँका भाकाहरु विरह रंगका हुन्छन् 
अक्सर यहाँको जीन्दगी श्यामश्वेत रंगको हुन्छ 
श्यामश्वेत पनि त रंग नै हो 
आउ, हेलाहोचो नगरी 
फैलाऔं खुशीका रंगहरु 
स्वाभिमानी हाँसो हासेर 
जसले हामिलाई जीवन्त सजाएको छ । 

होलिको शुभकामना !
©पुष्प खड्का-2021 

Friday, March 5, 2021

अनुदान पाएपछि घरको तला आफूखुशी थपिने सम्भावना !

—पुष्प खड्का 





वि.सं. २०७२ सालको गोरखा भुकम्प पछि क्षति पुगेका निजि आवास पुनर्निर्माण कार्य अहिले करिब सम्पन्नान्मुख छ । पुनर्निर्माण पछि बनेका अधिकांश घरहरुले उनीहरुको आवश्यकता नधानेको गुनासो घरधनीहरुले सुनाउन थालेका छन् । पुनर्निर्माण कार्यक्रमको उत्तरार्धमा हाल केहि भुकम्पीय पुनर्निर्माणका क्रममा बनेका घरहरुले तेस्रो किस्ता प्राप्तिपछि घरको संरचनात्मक फेरबदल गरि तला थप वा बिस्तार गर्ने प्रचलन देखिन थालेको छ । यसरी आफूखुशी तला थप वा बिस्तार गर्दा सुरक्षित पुर्नर्निमाण कार्यक्रममा सफल अवधारणाका रुपमा अपनाइएको ‘अझ बलियो’ (Build Back Better) अवधारणामा केहि चुनौती थपिने सम्भावना देखिएको छ ।

दोलखा जिल्लामा अहिले विभिन्न ठाउँका घरधनीहरुले यसरी तला थप्ने वा घर बिस्तार गर्ने क्रम देखिन थालेको छ । मुख्यतः बसिरहेको घरले पारिवारिक आवश्यकता पुरा नगरेको कारण नै घरहरुको बिस्तार गर्नुपरेको भनाई घरधनीहरुको छ । घरको तला थप गर्नुपर्ने बाध्यताको अर्को कारण अरु घर संरचना निर्माण गर्न जग्गाको अभाव रहेको र नयाँ संरचना निर्माण गर्न खर्चिलो हुने कारण सोहि घरमा संरचनात्मक फेरबदल गरि थप कोठाहरु निर्माण गर्नुपरेको धारणा उनीहरुको छ ।

दुइवटा घरलाई जोडेर एउटै बनाई तल्ला थप गरिएको । 
भीमेश्वर नगरपालिका वडा नं ५ पिपलबोटका घरधनीहरु रुकु खड्का र मिश्री खड्काले भुकम्प पछि गारोवाला घर पुनर्निर्माण गर्नुभयो । उहाँहरु नाताले सासुबुहारी हुनुहुन्छ । सरकारले कायम गरेको लाभग्राहि सूची अनुसार आ–आफ्नो नाममा घर बनाई पुनर्र्निर्माण पश्चात उहाँहरुले तेस्रो किस्तापनि प्राप्त गर्नुभयो । तर रहँदाबस्दा उहाँहरुलाई आफ्नो घर निकै साँघुरो लाग्न थाल्यो । सासुबुहारी दुवैको घरको माथि तिर थप गरि दुइवटा कोठा निर्माण गर्नुभयो । किन यसरी माथिपट्टी पनि तला थप्नुभएछ भन्ने प्रश्नमा मिश्री खड्का सुनाउनुहुन्छ, — “हामी ५ जनाको परिवार छ । दुइटा कोठाले त पुग्दै पुगेन । त्यसैले घरमुनी जस्ताले बेरेर एउटा किचेन पनि बनायौं । तर वास एकातिर चास अर्कोतिर भनेकोजस्तो भयो । फेरि कटेरामा भान्सा गर्दा धेरै नै समस्या भयो त्यसैले माथितिर थप गरियो । पहिला ठूलो घर बनाउन रकमले पुगेन अहिले अलिकति थपेर राखनधरन जोहो हुन्छ कि भनेर यसो गरियो ।” झट्ट हेर्दा पिलरवाला घर जस्तो देखिने उहाँहरुको घरको माथि अहिले छत ढलान गरिएको छ । उक्त घर पिलरवाला नभई आफूखुशी थपिएका पिलरहरु हुन् । उक्त घरमा छतमाथि इँटा सीमेन्टको गारो लगाएर दुइवटा कोठाहरु थप गरिएका छन् । 

घरमा जस्ता र काठ प्रयोग गरि तला थपिएको ।
त्यसैगरि भीमेश्वर ५ कै डङ्गल्पु टोल स्थित देवि खड्काले पनि आफ्नो घरमा माथिल्लो तलामा जस्तापाता र काठको प्रयोग गरि थप ४ वटा कोठाहरु निकाल्नुभएको छ । अघिल्लो वर्ष नै पुनर्निर्माण सम्पन्न गरि तेस्रो किस्ता समेत बुझिसक्नुभएको बताउने खड्का भन्नुहुन्छ,— “अन्नपात राख्न पनि नपुग्ने भयो । बस्तु, बाख्रा, कुखुरा अलि अलि पाल्नै प¥यो । घरमा गारो वा पिलर थपेर ठूलो बनाउन आयस्ताले पुगेन त्यसैले जस्ता र काठले कोठा निकालें । अहिले मेरो घरमा माथिका ४ वटा थप गरि ६ वटा कोठाहरु छन् ।” कृषि उत्पादन तथा औजार देखि घरपालुवा जनावरहरुका निम्ति पनि निश्चित ठाउँहरु आवश्यक पर्ने हुनाले घरका कोठाहरु अपुग हुनेगरेको उनीहरुको गुनासो छ । 

गारोवाला घरमा तला थप, छत ढलान तथा पिरलको प्रयोग ।
किँरातीछाप पसल टोलकि एकल महिला कृष्ण कुमारी कार्कीले पनि अहिले आफ्नो घरको तला धमाधम थपिरहनुभएको छ । कतिपय एकल महिलाहरुले पुनर्निर्माणका क्रमा आफूलाई धेरै ठूलो घर आवश्यक नभएको भन्दै एक वा दुई कोठे घर निर्माण गर्ने गरेको देखिएपनि कृष्ण कुमारीलाई भने पहिले पुनर्निर्माण गरेको घरले पुगेन । एक्लैलाई पनि यति धेरै कोठाहरु किन चाहिने रहेछ त भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ,— “मेरा दुई विबाहित छोरीहरु छन् । बेलाबखत छोरी ज्वाँई, तिनका नाता नातिना जम्मा हुँदा सुत्ने त परै जाओस् बस्नेसमेत ठाउँ नहुने रहेछ । ज्वाइँछोरी सुताउनै अर्काको घरमा पठाउनुपर्दा साह्रै नराम्रो लाग्ने रहेछ । त्यसैले मैले घर थपें । यति भए त पाहुना सुताउन अलि सजिलो पर्ला कि !” धमाधम ढलान भइरहेको उनको घर प्राविधिक तवरले सल्लाह लिएर बनाइएको भने होइन । ६१ वर्षीय कृष्ण कुमारीलाई घर अहिले उहाँले बनाएजसरी पनि बलियो नै हुन्छ भन्ने लागेको छ । ढलान गरेर बरु पहिलाभन्दा बलियो भयो भन्ने ठान्नुभएको छ । बलियो भन्दापनि खाँचो टार्न यसो गर्नुपरेको बताउने उहाँ थप्नुहुन्छ,— “किस्ता त ३ वर्ष पहिले नै लिएको हुँ । अब आफ्नो गच्छेले सक्ने यत्ति हो । यो भन्दा बढि थप्दिन ।” 

भीमेश्वर नगरपालिका धरामघर गोलाईका घरधनी पदम बहादुर खत्रीले पनि आफ्नो घरसँगै जोडेर एउटा नयाँ कोठा थप्नुभएको छ । भान्साको समस्याले कोठा थप्नुपरेको बताउने उहाँले पुनर्निर्माणका क्रममा बनाउनुभएको घरमा बन्धनहरुको प्रयोग गरेको भए पनि पश्चिम तर्फ थप्नुभएको कोठामा भने यस्ता कुनै बन्धनहरुको प्रयोग गरेको देखिँदैन । पुरानो घर १ तलामात्र भएको र परिवार ठूलो हुँदाको समस्याले कोठा थप्नुभएको कुरा उहाँका छिमेकी ईन्द्रबहादुर खत्रीले समेत जानकारी दिनुभयो । 

सँगै जोडेर अर्को कोठा निकालिएको तर थप गरिएको
संरचनामा बन्धनको प्रयोग नदेखिएको ।


किँरातीछाप टोलकै अर्का घरधनी इश्वर बहादुर थापाले पनि इँटा सीमेन्ट जोडाइ भएको आफ्नो घरमा तला थप्न छाना खोल्ने तयारी गर्दै हुनुहुन्छ । उहाँलाई पनि यसरी तला थप्दा सुरक्षित नै हुन्छ जस्तो चाहिँ लाग्दैन तर पनि बस्ने ठाउँको अभाव र नयाँ घर बनाउन वरिपरि घडेरी नभएको कारण यहि घरमा माथिपट्टी २ कोठा जती बनाउने सोच्नुभएको छ । “अर्को घर बनाउन खर्चले धान्न सकिन्न । अहिले भएको घरमा मलाई बस्न मुस्किल परेको छ । श्रीमती मुटुको विरामी भएको कारण स्याहार गर्नको लागि बेग्लै कोठा भैदिए हुन्थ्यो भनेर थप्ने विचार गरेको हुँ ।” यसरी जथाभावी निर्माण गर्नुभन्दा प्राविधिकको सल्लाह लिनु उचित हुने बलियो घर कार्यक्रम घुम्ती प्राविधिक टोलीको सुझाव पछि भने ईश्वर बहादुर सरसल्लाहको लागि नगरपालिका जाने बताउँदै भन्छन्,— “मलाई नथपि त भएकै छैन । कसो गर्दा बलियो हुने हो नगरपालिका गएर अलिकदिन पछि बनाउँछु । समयमा नै आएर सम्झाइदिनुभयो धन्यवाद छ ।” छिमेकमा यसैगरि घरमा तला थप्ने क्रम शुरु भएपछि आफूले पनि सोहि सिको गरेको समेत उहाँको भनाइ छ ।
 

छानो खोलि तला थप गर्न तयारी गरेको घर ।
उल्लेखित केहि उदाहरणहरुलाई हेर्दा के देखिन्छ भने हाल भुकम्पीय पुर्नर्निर्माण गरिएका क्षेत्रका मानिसहरुले आफ्नो आवश्यकता अनुसार घरको संरचनात्मक फेरबदल गरि कोठा वा तला थप गर्नेछन् । पुनर्निर्माणको क्रममा विभिन्न सीमितताका कारण आवश्यकता नधान्ने प्रकारको घर बनेको हुँदा सो आवश्यकता पुरा गर्न बैकल्पिक उपायहरुका बारे उनीहरुले सोच्न थालेको स्पष्ट हुन्छ । यसरि घरधनीहरुले आफूखुशी संरचना फेरबदल गर्ने लहर सिर्जना भएमा पुनः यस क्षेत्रमा संरचनात्मक भुकम्पीय जोखिम अझै कायम रहन सक्ने देखिन्छ । वर्तमान मापदण्ड अनुसार पुनर्निर्माण गरिएका घरहरुमा यसरी आफूखुशी फेरबदल गर्नाले झन् धेरै जोखिम हुने विचार राख्ने इन्जिनियर केयुर प्रधान भन्नुहुन्छ,— “हाल पुनर्निमाण भएका घरहरुमा मापदण्ड पालना गरिएका हुनाले सुरक्षित पनि छन् । तर फेरि यस्ता घरहरुमा आफूखुशी थप्ने होभने त यिनै घरहरु झन् असुरक्षित हुन्छन् ।” प्राविधिक सल्लाह लिनुपर्ने कुरालाई विशेष जोड दिँदै उहाँ थप्नुहुन्छ,— “तला वा कोठाहरु थप्नै हुँदैन भन्ने चाहिँ होइन । प्राविधिक अध्ययन तथा निरिक्षण गरि प्राविधिकको सल्लाह लिएर गर्न सकियो भने सुरक्षित बनाउन सकिन्छ ।” 

खासगरि ग्रामिण भेगका किसानहरुले घरलाई बस्नको लागिमात्र नभई उनीहरुको कृषि तथा पशुपालन वा यससँग सम्बन्धित सामाग्री, औजारहरु वा कृषि उत्पादनको भण्डारण र व्यबस्थापन समेत कार्यमा प्रयोग गर्नुपर्ने हुँदा आवश्यकता मुताविक घरमा कोठा वा तल्लाहरु थप गर्न सक्दछन् । पुनर्निमाणकै क्रममा यस प्रकारको सामाजिक वास्तविकतामा गहण अध्ययन नहुँदा अहिले मानिसहरुले धमाधम आवश्यकता अनुसारका संरचना थप्ने क्रम शुरु गरेका छन् । असुरक्षाको ज्ञान हुँदाहुँदै पनि यसरी जथाभावी परिमार्जन गर्न थाल्ने हो भने सुरक्षित समुदाय निर्माण अभियानमा चुनौती थपिने निश्चित छ । तला थप वा विस्तार गरेका अधिकांश घरधनीहरुले प्राविधिकको सल्लाह नलिएको वा लिन मनसाय नराखेको देखिन्छ । घरधनी इश्वर बहादुर थापाका अनुसार ‘प्राविधिकलाई सल्लाह मागेपनि नथप्नु नै भन्ने वा बढि खर्च लाग्ने तरिकाहरु आउने तर घरमा थप कोठाहरु नभई नहुने भएपछि बाध्यतावश’ प्राविधिक सल्लाहप्रति अनिच्छा राख्ने गरेको देखिन्छ ।  मानिसहरुलाई तला थप वा कोठाहरुको बिस्तारकार्य सुरक्षित तवरले गर्ने प्रावधान सरकारी तहबाटै बाध्यकारी बनाउनुपर्ने खाँचो देखिन्छ । यहि सन्दर्भमा पुनर्निर्माण कार्यमा प्राविधिक सहायता प्रदान गरिरहेको एक संस्था एनसेट बलियो घर कार्यक्रमका संयोजक एवं ईन्जिनियर आयुष वास्कोटाले यस्तै समस्यालाई मध्येनजर गरि सरकारी तहबाटै पुनर्निर्मित घरहरुको सुरक्षित विस्तार गर्ने निश्चित पद्धतीको निर्माणकार्य अन्तिम चरणमा पुगी लागु हुने क्रममा रहेको हुनाले घरधनीहरुलाई अभिमुखीकरण गरि केहि समय धैर्य गराउनुपर्ने विचार व्यक्त गर्नुभएको छ । 

जस्ताको प्रयोग गरि छतमाथि कोठा
 निकालिएको घर ।
पुनर्निर्माण कार्यक्रमको सुरक्षित अवतरण हुने र यसक्रममा भएगरेका सिकाईहरुको संस्थागतिकरण गर्नुपर्ने कुरालाई जोड दिइएको बेला केहि घरधनीहरुको निर्माण अभ्यासमा आएको यो सोचले कतै प्रचलनको रुप लिने त होइन भन्ने आशंका गर्नुपर्ने भएको छ । सरोकारवाला वा नियामक निकायहरुले सम्भावित जटिलताको समयमा नै निकास निकाल्न सके हालको सुरक्षित पुनर्निर्माणले सार्थकता हाशिल गर्न सक्दछ । अन्यथा भुकम्प पछिको पुनर्निर्माणका समयमा निर्माणकार्यमा गरिएको मापदण्ड परिपालना यसरि आफूखुशी थप वा बिस्तार गर्दा राज्यले अपनाएको सुरक्षित पुनर्निर्माण कार्यक्रम तथा ठूलो मात्रामा भएको मेहेनतपुर्ण योगदान लगानी वालुवामा पानी खन्याएझैं हुने त होइन ? स्थानीय घरधनी, निर्माणकर्मी तथा सरोकारवालाहरुलाई थप सजग बनाउनुपर्ने देखिन्छ । यस सम्बन्धी आवश्यक मापदण्ड वा नीतिगत तहबाट गनुपर्ने कामहरु पनि समयमा नै लागु गर्न तदारुकता देखाउन सकेमा यसको संस्थागत विकासले फड्को मार्दछ । भर्खरै राष्ट्रिय भवन संहिता पालना गर्न थालेका स्थानीय तहहरु वा शुरु गर्ने मनसायले काम अघि बढाएका पालिकाहरुले मात्र होइन भीमेश्वर नगरपालिका जस्ता पहिलेदेखि नै भवन निर्माण मापदण्ड पालना गरिरहेका स्थानीय तहहरुले पनि समय छँदै यसका सम्बन्धमा ध्यान पु¥याउन सके उत्तम हुने थियो । 

तल्ला थप गर्ने कार्य भइरहेको निर्माणस्थल । 


(भीमेश्वर नगरपालिका आसपासका केहि टोलहरुमा अवलोकन तथा घरधनीहरुसँग गरिएको संक्षिप्त कुराकानीका आधारमा पुष्प खड्काद्वारा तयार गरिएको घटना अध्ययन सामाग्री ।) 


Saturday, February 13, 2021

धनकि कुवेर

 प्राकृतिक स्वच्छपनकि चरित्र तिमि 

अद्भुत सुकोमल तनकी पवित्र तिमि 

कसरी बखान गरूँ तिम्रा गुण र विशेषता

धनकी त कुवेर रहिछौ मनकी दरिद्र तिमि

एकल डेटिङ

प्रेम उत्सव रे अचेल !

मैले पनि भेटें अहिले

एउटा अपरिचित आफन्त प्रेम

जो मसँगै रहेछ- 

आफैंले देख्न नसकेको आफ्नोपन 

रुमल्लिँदा रुमल्लिँदै जिन्दगीबाट

म आफैंदेखी भेटिइन छोडेको

जो मसँगै रहेछ- 

आफैंले चिन्न नसकेको आफ्नो मन

आज 

उही अपरिचित आफन्तलाई 

राखिहेर्छु प्रेम प्रस्ताव 

जान्छु एकल प्रेमिल डेटिङ

आफैंदेखी बिरक्तिएको आफ्नै मनसँग

स्वयम् देखि निरपेक्ष बाँचिरहेको

भन्नूमात्रैको आफ्नै मनसँग 

र, 

गुनासो गर्छु आफ्नै मनलाई 

ए मन ! तैंले तेरै मालिकलाई भन्दा बढी 

कसलाई राखिस आफुभित्र ?

©पुष्प खड्का-2020

Monday, February 8, 2021

कसैसँग भेट किन गरिन्छ ?

 भेट किन गरिन्छ ?

कसैले भन्यो-

न्यास्रो मेट्न भेटहरु गरिन्छन् ।

ओ मान्छे !

तर, मेरा लागि तिमि सँगको भेट 

न्यास्रो मेटिनेभन्दा 

यादहरु झन् बल्झने किन हुन्छन् ?

मैले यो उल्झन कहिल्यै बुझ्न सकिन 

Monday, February 1, 2021

उसलाई शुभ जन्मोत्सव !

 प्रिय मान्छे !

शुभ जन्मोत्सव ।


आज उसको विशेष दिन । धरतीमा एउटा उज्ज्वल तारा अवतरण गरेको दिन । अर्थात उसको जन्मदिन । मैले अहिलेसम्मको जीवनमा वोध गरे अनुसार - मानिसको जन्म साश्वत यात्रा रहेछ । जीन्दगी दु;ख र सुखका संवेगहरु बोकी हर्ष र पीडा बीच पग्लिदै, छचल्किदै बहने खोला रहेछ । मैले जीन्दगीलाई उसको जन्मदिन पारेर यसैगरी अर्थ्याएको छु । जन्मदिनको सुरुवात पनि त जीवन यात्राको लागि सुर्योदय हो जसरी हर विहान उदाउँछ एक आशाको उज्यालो सुर्य । त्यस्तै जाज्वल्यतापुर्वक आज पनि उसको एक अर्को जन्मदिन पदार्पण भएको छ । यससँगै जीवनलाई उसले थप एकसाल अनुभवी तुल्याएकि छ । 

जीवन हर साल ज्ञानले समृद्ध बन्दै जाने रहेछ । यो निकै महत्वपूर्ण पक्ष हो । यसकारण पनि, उसलाई यो अबसरमा हार्दिक बधाई अनि शुभकामना छ । 

उसँगको चिनजान, संगत तथा सबथोक मलाई प्रिय लाग्छ । त्यसैले उसको जन्मदिन पनि मलाई प्रिय लागेको छ । आज रिवाइन्ड भएका छन् स्मृतिका हर एक कुनामा उ अनि उसँगकै पलहरु । जसलाई आज म शुभकामना शव्दमा अटाउन त सक्दिन तर पनि केही नलेख्न पनि सकिन । जति भुल्न खोजे पनी उसलाई जसरी जती जलाउन खोजेपनी जहाजको ब्ल्याक बक्समा  रहिरहन्छन् त्यहाँका सुचना, त्यसैगरी सुरक्षित रहने रहेछन् मान्छेका यादहरु । यस्तै यादहरु, न्यास्रोहरु, खुशीहरु सँगालिएर त जीन्दगी बन्दोरहेछ ! 

उसको जन्मदिनको अवसरमा उसलाई सँधै खुशी मिलोस् भनेर शुभकामना छ । जीन्दगीले कहिल्यै पछि फर्कन नपर्ने गरि प्रगतिशील पथ नछोडोस् । सबैको प्रिय बन्नु । उ माथी भगवानको सदैव अनुग्रह रहिरहोस् । प्रत्येक पल आवेगलाई विवेकले र उत्तेजनालाई संवेगपुर्ण चेतनाले जित्न सक्नु । 


प्रिय मान्छे !

शुभ जन्मोत्सव ।

सम्झनामा भुइचालो २०७२

–पुष्प खड्का
शैलुङ–५, काटाकुटी, दोलखा ।


छुट्टीको दिन कहिलेकाँही रमाइलो गर्ने मेसो मिलाएर अघोषित सेड्युल अनुसार कहिले कता कहिले कता निस्कनु हाम्रो अनियमित नियमितता जस्तै बनेको थियो । यस्तै मेसो अनुसार शनिवार सिनेमा हेर्नेबारे साथिहरुसँग सल्लाह थियो । शनिवार मेरा लागि जहिल्यै फुर्सद भित्रको अफुर्सद बन्छ । व्यक्तिगत कर्म, नुहाइधुवाइ लगायत मौका मिले साथिभाइ घुमफिर त्यै दिन धान्नुपर्छ । निकैजेल देखि बजेको फोनका तर्फ ध्यान लगाउँदा ‘हेल्ला’े भन्न नपाइ साथि जिस्किएको सम्झन्छु  ‘नयाँ साल लागेको यत्रो दिन लागिसक्दा पनि तँ सुध्रेनस् । हामि आइपुगेकै १५ मिनेट भो, आइज खुरुक्क सुन्धारा !’ ए, सुध्रिनलाइ सुन्धारा पो पुग्नुपर्ने रहेछ ! नुहाएर आउँछु भनेर उत्तर बोल्दा – हाम्लाइ भेट्न नुहाइरहनु पर्दैन भनेर तिनिहरु पड्कन्थे । त्यसबेला नेपाली चलचित्र ‘रेसम फिलिली’ भर्खरै रिलिज भएको थियो । त्यहि हेर्न हामि पनि सुन्धारा स्थित सिभिल मलको टुप्पोमा पुगेका थियौं । टिकट लिएर हलभित्र छिर्नु अघिको समय साथिहरु भकुण्डो हुत्याएर लहरै रहेका पोलहरु लडाउने खेल ‐खेलको खास नाउँ के हो अहिले पनि जान्दिन) खेल्दै थिए । नामै नजानेको खेल म के खेल्थें, रेलिङमा आड लागेर हेर्दै थिएँ । सबैजना हामिजस्तै हल छिर्नु अघिको समयलाई आफ्नै शैलीमा व्यतित गरिहेका थिए । धेरैजसो आ–आफ्नो मोवाइलमा घोत्लिएका थिए । एक कोण पपकर्नलाइ केन्द्र पारेर ढल्किएका दुई थान टाउकाहरु पनि पपकर्न भन्दा निजका फोनहरुतर्फै बढ्ता ध्यान लगाएका देखिन्थे । मान्छेहरु आफ्नै मोवाइल हेर्न सिभिलमल सम्म किन पुग्छन् ? मैले त्यतिबेला मात्र होइन अहिले पनि बुझेको छैन । जे होस झुण्ड झुण्डका मस्ती हेरेर मै मस्त भएको थिएँ । अचानक सिभिल मल हल्लिन थाल्यो । शुरुको केहि बेर के भएको भन्ने अनुमान भएन । कसैले बोल्यो – भुइँचालो ! मलाइ त्यसपछि बल्ल थाहा लाग्यो भुइँचालो रहेछ । हलभित्र हेर्न गएको हल नछिर्दै रेशम फिलिलि भइयो नि ! त्यसबखत कति अत्यास लाग्दो थियो । हलमा भयंकर कोलाहल मच्चियो । अग्लो भवनको सबैभन्दा माथि भएर पो हो कि, भुकम्पको धक्काले बढ्तै हल्लिएको जस्तो मलाइ त्यसबेला लागेको थियो । गुँड भत्किएका कमिला जस्ता भएका थिए मान्छेहरु । सबै आफ्नै सुरमा यताबाट उता, उताबाट यता दौडिरहेका थिए । ती दौडिनेहरुमध्ये एक म पनि थिएँ । के गर्ने भन्ने शुर भए पो गर्नु, अरुहरुले जसो गरे उसै गरियो ! जीन्दगीको ‘राम नाम सत्य’ त्यसैेदिन रहेछ भन्नेमा म विश्वस्त थिएँ त्यसैले थप दौडिन छोडेर पिल्लरको भित्तोमा अडिएँ । एकछिन अघिसम्म अँगालो मारिरहेका प्रिय मान्छेहरु अहिले छिन्न भिन्न देखिन्थे । एक जना अलिक वृद्ध देखिने बुवा पनि सकि नसकि ‘भगवानको लीला !’ ‘राम ! राम !!’ भन्दै सिँढि ओर्लँदै हुनुन्थ्यो । मानिसहरु सबैभन्दा अघि को पुग्ने झैं बुढो बा लाइ वास्ता नगरि तँछाढ मछाड गर्दै दौडँदै थिए । मानौं त्यहाँ कुनै दौड प्रतियोगीता भइरहेको छ । र, ती प्रतियोगी मध्ये एक दौडाहा म पनि थिएँ । मैले पनि ती बा’लाइ उसैगरि छोडेको थिएँ जसरि अरु गरिरहेका थिए । विपत्तीका बेला आफ्नो बाहेक अरुको ख्याल पु¥याउन फुर्सदै नहुने रहेछ ।


भवन बाहिर मुल सडकमा निस्कँदा सडकमा गाडी र मान्छेहरु खचाखच देखिन्थे । केहि मोटरसाइकलहरु रोड मै पल्टिएका थिए । कतिपय घर पर्खाल भत्किएका थिए । टुँडिखेलको गेट लडेर मोटरसाइकललाइ थिचेको थियो । बीर अस्पतालका स्वास्थ्यकर्मीहरु सडक मै उपचारको प्रवन्ध मिलाउँदै थिए । सबैको अनुहार त्रसित थियो । ती तर्सिएका मुहारहरुमध्ये एउटा मुहार मेरो पनि थियो ।


सँगै सिनेमा हेर्न भनि भेटिएका, बरु गाँस छोड्नुपर्ने तर साथ छोड्न नहुने साथीहरु पो कतिबेला कहाँ छुटे ? बल्ल याद भएथ्यो । ‘आफू भलो त जगत भलो ?’ घरपरिवार पनि त्यो बखत याद आएथे । कसैसँग सम्पर्क हुन सकेन । मोवाइल फोनको नेटवर्कमा समस्या आइसकेको रहेछ । बल्ल मन आँत्तियो । साँची, गाउँका घर रहे ? घरमा एक्लै भएकि बहिनी कुशल छे ? के आमालाइ दिदीले रक्षा गर्नुभो ? निकैजेलमा मोवाइल सम्पर्क भएपछि थाहा लाग्यो सबै सूरक्षित हुनुन्छ।


बीर अस्पतालमा घाइतेको चाप खचाखच थपिँदो थियो । स्वास्थ्यकर्मीहरु पनि के गर्ने के नगर्ने अलमलमा देखिन्थे । एक जना बुढो बुवा जो केहि बेर अघि भुकम्पको समयमा सिभिल मलको सिँढिमा ओर्लनेहरुको ठेलाइ झेल्दै हुनुन्थ्यो, उहाँलाइ कसैले बोकेर ल्याउँदै थियो । उहाँको निधारमा चोट देखिन्थ्यो । भुकम्पका बेला बेवास्ता गर्दै अगाडी दौडनेमध्ये एक म आफैं पनि हुँ भन्ने सम्झँदा अहिले पनि आत्मग्लानी हुन्छ । एक किसिमको हिनवोध अहिले पनि हुन्छ । ए बुढा बा – मिल्छ भने मलाई माफ गरिदिनु ।


उपलव्ध जनशक्तिले धान्न नसक्ने गरि त्यहाँ विरामीको भिड बढेको थियो । कसैले भन्दै थियो – ‘विपत्तीको बेलामा हामी सबै डाक्टर हौं । आउनुस् सबैले स्वास्थ्यकर्मीलाइ सहयोग गरौं ।’ उपचार गर्ने त्यो पनि मैले ? आजसम्म कहिल्यै नगरेको काम ! त्यै पनि वीर अस्पतालले उपलव्ध गराएको मास्क र पन्जा लगाएर कस्सिँए । प्राथामिक उपचारको काममा हामीहरु जुटेका थियौं । जटिल चोटग्रस्तहरुलाई डाक्टर भएठाउँसम्म पु¥याइदिन्थ्यौं । पछि बिस्तारै व्यबस्थित भयो । नेपाली सेना तथा प्रहरीहरुले त्यहाँ सहयो गर्न थालेका थिए । त्यसबेलाको एउटा प्रसंग म अझै सम्झन्छु । मानिसहरु त्यहाँ नअटेका घाइतेहरुलाई सडकमा गुडेका जुन गाडि भेट्यो त्यसैमा चढाएर नजिकको अर्को अस्पताल लगिदिन आग्रह गरिरहेका थिए । चालकहरु पनि सकेको सहयोग गरिरहेका थिए । एउटा आधा निलो आधा रातो प्लेट भएका,े सायद मन्त्रीको ? गाडि पनि वीर अस्पताल अघि जाममा थियो । उक्त गाडिलाई पनि कसैले एक जना विरामीलाई टिचिङ अस्पताल पु¥याइदिन आग्रह गर्दै थिए । गाडि चालक ‘मन्त्री लिन हिँडेका’े, ‘मिल्दैन’ भन्दै पन्छिन खोज्दै थिए । “बिपदको बेलामा राजा न मन्त्री ! सबैले सहयोग गर्नुपर्छ ।’ मेरो मुखबाट फुत्कियो – मन्त्रीको गाडीले किन बिरामी बोक्न हुँदैन ? सबैले ‘हो हा’े भने । एकजना बिरामी सहित दुई जना आफन्त उक्त गाडीमा चढे ।  तर, अहिले मलाइ के लाग्छ भने, मन्त्रीहरुले नितिगत निर्णय लिनुपर्छ । विपदका बेला झन धेरै समयको महत्व हुन्छ । हामिले त्यसरी अलमल्याउन हुन्नथ्यो कि ! माननिय पुर्व मन्त्रीज्यु ! तपाइँको गाडीलाइ बाटैमा अलमल्याएकोमा हामीलाई माफ गर्नुहोला ।


सबैभन्दा दुखद कुरा मलाइ त्यस बेला के लागेको थियो भने भिमसेन थापाले बनाएको ऐतिहासिक धरहरा लडेको थियो । राष्ट्रको धरोहर ढलेको थियो । मलाइ अलि बढि दुख लाग्नुको अर्को कारण पनि हुनसक्छ, मैले चढ्न नपाइ काठमाण्डौंको धरहरा लड्यो ! साँच्चै मलाइ धरहरा प्रति लगाव रहेछ । ‘हेर्दा हेर्दै लड्यो नि ! कति मान्छेहरु रेलिङबाट तल हेर्दै थिए । कोहि चढ्दै थिए । कोहि ओर्लँदै थिए । सबैको एक चिहान भयो । यहिँ पुरिए ।’ प्रत्यक्षदर्शी बताउने पानीवाला, जो मिनरल पानीका बोतल बेच्दै थिए, ले बताएका थिए । ती पुरिएका हरुमा आफु कल्पिँए । एकछिन् मन सकस भयो । धरहरा चढ्ने रहर तत्क्षण खण्डहर भयो । एकछिनपछि ७–८ जनाको एक हुल युवाहरु कतै फटाफट आउँदै गरेका देखिन्थे । तिनिहरुले आ–आफ्नो टाउकोमा नेपालको झण्डा बेरेका थिए । ‘बसन्तपुरमा धेरै मानिस पुरिए र’े भन्दै थिए जाँदै थिए । मसँग उनिहरुले झैं टाउकोमा बेर्न नेपालको झण्डा त थिएन तर म पनि रित्तै टाउको उनिहरुको पछि लागेर बसन्तपुर पुगें । त्यहाँ पनि कहालीलाग्दो वातावरण थियो । विदेशी पर्यटकहरु आँत्तिएका थिए । नेपाली सेना त्यहाँ पनि खोज तथा उद्धारामा खटिइसकेका थिए । उपलब्ध मान्छेहरु सबै लाम लागेर इँटाहरु पन्छाउँदै नेपाली सेनालाइ सहयोग गरिरहेका थिए । ती झण्डावाला ८ जनाको झुन्डमा मिसिएको म सहित ९ जना पनि त्यहि लाइनमा इँटा पन्छाउन सहयोगी बन्यौं । त्यसअघि कहिल्यै नचिनिएका र फेरि कहिल्यै नभेटिएका ती आठै जना गर्विला साथिहरु जसले सुन्धारा तिर अलमलिइरहेको मलाइ पनि तिनको समूहमा मिसाएर गौरवान्वित पारेथे, लाई म अहिले सधन्यवाद सम्झिरहेको छु । एक झुन्ड साथिहरु ! धन्यवाद ।


साँझमा पुतलीसडक फर्किएँ । डेरा रत्न गल्लीबाट स¥यो । सिंहदरवारको भित्र खुला चौरमा बस्ने भइयो । डराइ डराइ निकालिएका केहि थान ब्लाङ्केट्स थिए तर छानो त खुला आकाश । सुत्ने ठाउँ ‘रिजर्भेसन’ गरिसकेपछि भिनाजु र म बजार निस्कियौं बेलुकीको खान्की जोहो गर्न । तन्दुरी पसलमा रोटी किन्ने अनि दही लैजाने सल्लाह गरेर दहि त किन्यौं तर रोटि पाइन मुस्किल देखिन्थ्यो । रोटि किन्न त्यसरि त्यति लामो लाइन लागेको मैले पहिलोपल्ट देखेको थिएँ । दोस्रोपल्ट देखेको छैन । ‘सबैले बाँढेर खानुपर्छ । एकजनाल चार वटा मात्रे रोटि पाउँछ । पीठो सकिन लाग्यो ।’ साउजी भन्दै थिए । नियमानुसार हामिले पनि लाइनमा दुइ जना भएका कारण आठ रोटिका हकदार भयौं । ती आठ रोटि र एक लिटर दहिले त्यस साँझ हामी छ जनाको छाक टारेको थियो । शरणार्थी शिविर जस्तो भएको थियो सिंहदरबारको चौर । सँधै हामिलाइ शहरीया रवाफ देखाउने पल्लो घरकि ‘घरवेटी माँ’ पनि त्यहि शिवीरमा देखिइन् । के डेरावाला के घरवेटी ! एकैठाउँ ल्याइदिएको थियो भुइँचालोले । सबैभन्दा डर चाहिँ – अब झन् ठुलो आउँछ रे !, ध्वस्तै पार्छ रे !, प्रलय पो हुन्छ रे ! यस्ता ‘रे !’ ले तर्साउँथे । सबै त्यसै भन्थे । हो कि झैं लाग्थ्यो ।


काठमाडौको जीन्दगी त्रास र अभावको रह्यो । बिरामी आमालाइ सिंहदरवारको चौरमै दिदीलाइ जिम्मा लगाएर दोलखा फर्किने विचारले पुरानो बसपार्क तिर बिहानै निकिएँ । बस पाउने छाँटकाँट थिएन । फर्किएँ । भोलिपल्ट पनि गएँ । हालत सोहि थियो । बसहरु पाइन्थे । सीटहरु पाइन्नथे । बसभाडा हजार तिरे छतमा डन्डीमा झुन्डिनलाइ ठाउँ पाइन्थ्यो । तीन सय तिरे पुगिने दोलखा पुग्न हजार तिर्न बाध्य पारिएर छतमा झुन्ड्यिाइएका थिए यात्रुहरु । त्यसरी झुन्डिएकाहरुमध्ये छतमा झुन्डिने एक यात्रु म पनि थिएँ । विपदका बेला सहयोगी बन्नुपर्नेमा यातयात व्यबसायीहरु पनि ‘मौकामा चौका’ हानिरहेका थिए । प्रायः यातयात कम्पनीहरु आफ्नो नाउँका पछि ‘सेवा’ जोड्छन् । तर, त्यहाँ सेवाका नाममा खुलेआम लुट भइरहेको थियो । तिनीहरु विपदमा सहयोगी बनिदिएको भए हुने भन्ने अहिले पनि लाग्छ । डियर गाडीवाला ! त्यसो गर्न सकिन्नथ्यो ? के बाध्यता थिए ?


बाटोमा बसको छतबाट देखिएका सिन्धुपाल्चोकका क्षतिग्रस्त घरहरुले त्रासको तह झन् बढायो । ती घरहरुमा म आफ्नो घर देख्थें । वातावरणले हो कि मनस्थितीले मनको स्थिती कहालीलाग्दो भएको थियो । गाउँमा आइपुग्दा जनजीवन स्पष्ट त्रस्त देखिएको थियो । घरहरु क्षेतिग्रस्त थिए । मानिसहरु के गर्ने के नगर्ने अन्यौल मानसिकतामा गुज्रेका थिए । गुँड भत्किएको चरा झैं बेघर भएका थिए । म पनि घर पुगें । घर पुगें कि घर भएठाउँ पुगें ? एउटा बेघर चरि, मेरि स्नेही बहिनी घर बाहिरै थिइ । मलीन मुहारले बोली – ‘घर भत्किइहाल्यो दाइ !’ हाम्रो घर लडिहालेको त थिएन । तर, नराम्ररी चर्किएको थियो । पहिले म घर पुग्नासाथ सरासर घरभित्र पुग्थें । मलाइ घरप्रति कत्रो लगाव थियो । मलाइ मेरो घरप्रति कति विश्वास थियो । साँच्चै मेरो घर मेरा लागि कति ठुलो भर थियो । घरभित्र हुँदा आफुलाइ सुरक्षित ठान्थें । त्यस दिन त्यस घरमा सँधैजस्तै सरासर पुगेको थिएँ । तर म घर बाहिर मात्र पुगेको थिएँ । मलाइ त्यत्रो भर दिइरहेको घरले मलाइ किन डर दिइरहेको थियो ? ए घर, मलाइ किन डर दिइएथ्यो ? एकफेर म एउटा लाइटर निकाल्ने कामले घर भित्र पसेको थिएँ, पसेको मात्र के थिएँ एकै सासमा म बाहिर निस्किएको थिएँ । मलाइ त्यत्रो डर यहि घरले दिएको थियो जो मलाइ भर दिँदैथियो ।


गाउँमा मुख्य समस्या नै बासको थियो । व्यक्तिगत बास बस्ने अस्थायी बन्दोबस्त गर्नको लागि तत्काल सम्भव भएको थिएन । माथ्लाघर ढुंगेल दाजुले टमाटर रोप्न लगाएको ‘टनेल’ हामी सबै टोलबासीको घर बन्यो । त्यसैमुनी लहरै ओछ्यान् लगाएर सुत्यौं । एकदिन त हुरि बतास सहितको पानीले त्यहि पनि उडाइदियो । टालटुल पारेर फेरि लगायौं । त्यसबेलाको कष्ट अहिले सम्झिन त मन छैन तर, बिर्सन पनि त कहाँ सकिँदो रहेछ र ! खासगरि टोलका महिला, बालबालीका तथा बृद्ध सदस्यलाइ असाध्यै कस्ट पुगेको थियो । हामीलाई निकैजेल ओत दिने टनेललाइ धन्यवाद । ए ‘टनेल’, थ्याङ्क यु !


गाउँमा उपलव्ध चित्रो भकारीहरु अपर्याप्त थिए । फेरि तिनले पानी पनि तर्काउन्नथे । चित्रोमाथि प्लास्टिक या पाल राख्न सके त गज्जव हुन्थ्यो। तर त्यसबेला को त्रिपाल र हिमालयन यति एउटै थियो । पाइन्छ रे ! आयो रे ! ल्याए रे ! प्रसस्त सुनिन्थ्यो तर देखिन्नथे । बाँड्नेहरु पनि सडकको पहुँचका आधारमा मास्तिरै बाँढेर फर्कन्थे । आकाशमा हेलिकप्टरहरु बाक्लै उड्थे । गाउँलेका आशाका आँखा पनि ‘मास्तिर’ै हेर्थे । हजुरआमाले एक दिन भन्नुभएको थियो – ‘सर्खारले यता चाहिँ हेदैन क्या हो बाबु !’ ए सर्खार , साँची त्यसबेला हाम्री हजुरआमालाई किन हेरेनौ ? सायद अन्य ठाउँमा जाँदा भ्याएनौ होला । 


बल्लतल्ल गाउँमा पालहरु आइपुग्न लागे । त्यसपछि आ आफ्नै पाल घर बनाउँदै एउटै परिवार बनेको ‘टनेल घर’बाट मानिसहरु ‘भिन्दो’ हुन थाले । गाउँमा काठबाँसको त समस्या नहुने तर छानो कै समस्या हुने रहेछ । हार्डवेयर पसलहरुमा सकिएका जस्तापाताहरु नआउन्जेल मानिसहरु पालमुनि नै पालिए । छानोमा हामी यति परनिर्भर बनिसकेछौं कि अलिकता ‘राहत थाप्न’े लोभमा दिनभर लाम लाग्न सक्ने हामी गाउँमा पाइने छ्वाली, खर आदीले सहजै सकिने छानो छाउने सीप कसैसँग रहेनछ । विपत्तीमा विकल्प पो सोच्नुपर्ने रहेछ । ‘कटेज’ बन्न पनि सानो दुखले सम्भव भएको थिएन । जस्ताको छानो जस्ता कै बारबेर पारेर बनाइएको एउटा अस्थायी कटेरो जो कटेज नाउँले गाउँभरि प्रसिद्ध भयो,ले हाम्रो परिवार करिब २ वर्ष पाल्यो । एउटा कोठा । त्यहि भान्छा, त्यहि सुत्ने, पढ्ने, घरभरिका सामान अटाइदिने त्यहि । सम्पुर्ण घर त्यहि कटेरो थियो । भन्नै परेन कष्टकर जरुर थियो । हामीलाइ छानो दिने त्यो एक कोठे ‘कटेज’ अहिले पनि दाउरा तथा अन्य राखनधरनलाइ ओत मात्र दिइरहेको छैन करिव दुई वर्षको कटेज बसाइले नयाँ घर पुनर्निमाणको अनुभव पढाउन समेत सफल रहेको छ ।


मेरो गाउँको नाउँ काटाकुटी जो काष्ठकुटीबाट बन्यो, काष्ठमण्डपबाट काठमाण्डु बनेजसरी । मान्छेहरु मेरो गाउँलाई सशंकित हुँदै सोध्छन् – काटाकुटी कस्तो डरमर्दो नाम ? काट्ने कुट्ने गाउँ ? ए डरपोक मनुवाहरु ! नडराओ । यो काटाकुटी काष्टकुटी थियो । योगीहरुको तपोभुमी थियो।


काटाकुटीको भुकम्प पछिको परिदृष्य हेर्ने हो भने केहि घरहरुका धुरीले गारोको आड पाउन छोडेपछि भुइँमा बजारिएका थिए । तर धेरै घरहरु त्यसरि भुइँमै छानो पुग्ने गरि गल्र्याम्गुर्लुम लडेका थिएनन् । घरहरुमा क्षेति पुगेका थिए तर टाढाबाट हेर्दा घरहरु ठाडै देखिन्थे । ‘दोलखामा खासै क्षति छैन’ भन्ने अभिव्यक्ति दिने दोलखाका एकजना तत्कालीन प्रसासकीय अधिकारीले दोलखालीको ‘राम्रै खप्की’ भेटेका थिए । धन्न नराम्रो हुन पाएन । ए दोलखाली लोग ! उनि चढेको हेलिकप्टरबाट तिम्रा हाम्रा घरका छाना धुरी मै देखिन्थे । भुइँमा देखिन्नथे । त्यसमा तिनको के दोष ? दोष हेलिकप्टरको हो । दोषी हेलिकप्टरलाई कारवाही गरियोस् । डियर हेलिकप्टर ! मलाई माफ गरियोस् । तर, दुखभित्र पनि सुखद कुरा यो थियो कि घरहरु गल्र्याम्गुर्लुम नलडेका कारण काटाकुटीबासीले कुनै मानविय क्षेती व्यहोर्नुपरेन ।


अबका वर्ष पुनर्निमाणको वर्ष हुने, नेपाललाइ सुरक्षित पुनर्निमाणको सुनौलो अबसर भएको, भुकम्प प्रतिरोधि घर पुनर्निमाणमा सरकारले अनुदान दिने । त्यो बेलाका आशालाग्दा समाचारहरु यस्ता थिए । मौलिकता हराउने हो कि भन्ने चिन्ताले पनि त्यसबखतका चिन्तकहरु चिन्तिन्थे ।


नयाँ बन्नको लागी पुरानोको अस्तित्व मेटिनुपर्छ । साँची, नयाँ बन्न पुरानो हटाउनैपर्छ ? काटाकुटीमा पनि पुनर्निमाणको सुरुवात पुराना क्षेतीग्रस्त घरहरुलाइ भत्काएरै भएको थियो । भुकम्पका धक्काले हाम्रो घर पनि मेरुदण्ड भाँच्चिएको मान्छे जस्तो बा∙ोटि∙ो उभिएको थियो । बाङ्गा बस्तुहरु झेल्न अलि कठिन हुने रहेछ । बाङ्गा घरहरु, बाङ्गा मुढाहरु, बाङ्गा मान्छेहरु ! ए बाङ्गो घर– हामीलाइ तेरो चुनौती स्वीकार छ भत्किन तयार हुनु । मनमनै त्यस्तो धम्की मैले मेरो बाङ्गो घरलाई दिएको थिएँ । तर हामिलाई घरले नभत्कियुन्जेल सामना ग¥यो । हामिले घरलाइ नभत्काउन्जेल सामना ग¥यौं । हाम्रो बाङ्गो घर त्यसरि भत्काउनुअघि मैले मेरा सोझो स्वर्गीय बुवालाइ सम्झिएको थिएँ । जसले मलाइ नौ वर्षको छँदै छोडेर गएपनि हामीलाइ त्यो घर बनाइदिएर जानुभएको थियो । उहाँको जीवनको कमाइको एक महत्वपुर्ण हिस्सा, जो काठमाण्डु इन्द«चोकतिरका गल्लीहरुमा सुनौला पसिनाले सिंचित गरेर छोराछोरीका खुशीका खातीर कमाइएका थिए । भरिया जीन्दगीको अमुल्य समय, बुवाको अनमोल श्रम त्यो घरमा लगानी भएका थिए । गारोका प्रत्येक ढु∙ामा, प्रत्येक काठपात, दलीनहरुमा म बुवाको मेहेनत प्रष्ट देख्थें । हामीलाइ घरभित्र राख्न उहाँको कत्रो योगदान रहेछ मैले त्यसबेला महशुुस गरेको थिएँ । पुज्यनीय बुवा ! म तपाइँको ऋण तिर्न सक्दिन । कृपा गरेर आफ्नो खातामा ‘चुक्ता’ लेखिदिनुहुन्छ कि ? अँ, ‘बा !’ व्याज त हिसाबै नगरे हुन्छ सकुँला र?


बुवाको त्यत्रो मेहेनतले ठडिएको घर ढलाएर पन्छाउन हामीलाइ एघार दिन लाग्यो । आफुबाहेक रु एकचालीस हजार दुइ सय पचास ज्याला मैले तिर्नुपरेको थियो । बुवाको एक डायरीमा उल्लेखित हिसाबलाई आधार मान्ने हो भने त्यसबेला यो घर बन्न एक लाख एक्काइस हजार सात सय बीस रुपैंया लागेको रहेछ । जसमा मैले घर भत्काउँदा आफ्नो खर्च नजोडेजस्तै बुवाको श्रम त्यसमा जोडिएको थिएन । सबै तिर्नुपर्ने रकमहरुमा गोलो घेरा लगाएर ‘चुक्ता’ लेखिएका थिए । तर, माफ पाउँ बा’ मैले अहिले घर बनाउँदा लागेको खर्चमध्ये कतिपय रकमहरुमा अझै ‘चुक्ता’ लेख्न बाँकि छ । अवश्य लेख्नेछु, निश्चिन्त हुनुस् ।


निजि आवास पुनर्निमाणका लागी सरकारले अनुदान रकम उपलब्ध गराउने भयो । तर सो रकम सशर्त थियो । मापदण्ड पुरा गरि घर बनाउनुपर्ने । अनुदान किस्ताबन्दीमा पाइने । भुकम्प, पराकम्पहरुले किस्ता किस्तामा हाम्रो घरको चर्काइ बढाएजस्तै ! गाउँमा सबैभन्दा अफ्ठ्यारो यहि थियो, अनुदान लिन भुकम्प प्रतिरोधि घर बनाउनुपर्ने । भुकम्प प्रतिरोधि घर कसरी बन्छ जान्ने कोहि थिएन । सरकारले दाता सम्मेलन गरेर प्रशस्तै रकम जम्मा गरेकोले सरकारसँग टन्नै पुँजी छ । पक्की घर सबैलाई बनाइदिन्छ भन्नेहरु पनि थिए । भुकम्प प्रतिरोधी घर बारेका जानकारीमुलक सामाग्रीहरु त्यसबेला रेडियो टेलिभिजनहरुमा देख्न सुन्न पाइन्थ्यो । कागजका पर्चाहरु पनि भेटिन्थे भुकम्प प्रतिरोधि घरबारे । त्यसबाहेक कसैलाइ यसबारे ज्ञान थिएन । डकर्मीहरुमा पनि अन्यौल थियो । प्राविधिकहरु खटिएका थिएनन् । कतिपय घरहरु त्यहि ज्ञानको अभावका बीच पनि बनेका थिए । त्यसबेला अनुदान भन्दापनि टहरे जीन्दगीमा पारिवारिक आवश्यकता अनि बाध्यताले गाउँलेलाइ गाँजेको थियो । फलानो घर यसरी भत्कियो फलानो यसरी भत्किएन । ठुलो घर बनाउन नहुने रहेछ । नश कस्न पर्ने रहेछ । भुकम्प पछि डकर्मीहरुमा यस्ता ज्ञान फुर्न थालेका थिए । यसो गरे हुन्छ कि भनेर अनुमानका आधारमा पनि भुकम्प लगत्तै केहि घरहरु त्यसरी बनेका थिए ।


गाउँमा प्राविधिकहरु खटिने, अभिमुखीकरण कार्यक्रमहरु र डकर्मी तालिमहरु संचालन हुन थालेपछि भने पुनर्निमाणले गति लिन थालेको थियो । ‘भुकम्पको घर’ कस्तो बनाउने भन्ने सीप स्थानीय डकर्मीहरुले जानेका थिए । यसको श्रेय पुनर्निमाणमा काम गरिरहेका संघसंस्थाहरुलाइ जान्छ । त्यसबेला तालिम लिएर आउनुभएका डकर्मी काका भन्नुहुन्थ्यो – ‘भुकम्पको घर बनाउन अब जानियो । एनसेटले दिएको तालिम राम्रो लाग्यो । तालिम लिएका डकर्मीहरुको तिनचारोटा समूह बनाएर घर बनाउनुपर्छ भनेका छन् ।’ त्यसबेला ‘भुकम्पको घर’ भन्नाले बिभिन्न डि.पि.सी. ÷ बन्धनहरु राखेर बनाइने दुइ कोठे घर बुझिन्थ्यो । ठुलो घर बनाउन पाइँदैन । अग्लो घर बनाउन पाइँदैन । बनाए पास हुँदैन अनुदान पाइँदैन । यस्ता कुराले त्यसबखत मानिसलाई साँच्चै खुम्च्याएको थियो । आफुखुशी बनाउन पनि नसकिने अनुदान लिउँ घर साह्रै सानो ! इन्जिनियरहरुसँग गाउँलेको प्रमुख टकराव नै ‘यत्रो घरमा कसरी अट्ने, अलि अग्लो बनाउन देउ’ भन्ने नै हुन्थ्यो । कहिलेकाहिँ यो ‘टकराव’ले ठुलो रुप लिन्थ्यो । एकफेर एकजना इन्जिनियर बनिरहेको घरमा पुगेछन् । यो मिलेन त्यो मिलेन भन्न थालेछन् । लगाएको गारो भत्काइदिएछन् । त्यसपछि गाउँलेहरुको झोकमा – ‘अगाडी नआउने अनि एकछिन आएर यता मिलेन त्यता मिलेन भनेर हप्काउने ?’ भनेर डकर्मीले इन्जिनियर बहिस्कार गर्नेसम्मको अवस्था आएर तत्कालीन गा.वि.स. कार्यालयले संयोजन बैठकै राख्न परेको थियो । बैठकपछि ‘चित्त माझामाझ’ गरेका उनिहरु त्यसपछि पनि बेलामौकामा आपसी चित्तदुखाइ गर्थे । मुख्य विषय त उहि थियो– ‘यत्रो घरमा कसरी अट्ने ? ए इन्जिनियर सर ! अलि अग्लो बनाउन दिनुस् ।’ मलाइ पनि लाग्थ्यो, ए इन्जिनियर सर ! घर अग्लै बनाउन दिनुस्, तपाइँको के जान्छ ? फेरि सोच्थें, सायद तिनको जागिर जान्छ । जागिरै जान पनि त भएन साँची ।अनि प्राविधिकलाइ, सरोकारवालालाई सुरक्षाको गणित झैं आवश्यकताको गणित बेलैमा सुझेको भए के जान्थ्यो 


केहिले आवश्यकताले बाहेक धेरैले विलखवन्धनमा परेर दुइ कोठे घरहरु बनाए । त्यस्तै दुइकोठे घरधनीमध्ये एक म पनि हुँ । जो मेरा प्रिय बा’ले बनाइदिएको तीनतले घरबाट आफैंले बनाएको दुइ कोठामा साँघुरिएको छु । पहिले हाम्रो घरमा भिन्दै पुजाकोठा थियो । भण्डारकोठा थियो । बुइँगल थियो । बार्दलीभरि कोठाहरु थिए । चुलो कोठा थियो त्यहाँ पनि चौको, मुल अँगेनो, मुल ओछ्यान जस्ता ठाउँहरु थिए । मुल थाम, आँटोहरुले आ–आफ्नै सांस्कृृतिक अर्थ बोकेका हुन्छन् । तिनिहरुले प्रतीकहरुको प्रतिनिधित्व गरिरहेका हुन्थे । अहिलेको हाम्रो घरमा एउटा कोठा सुत्न, एउटा भान्छाका रुपमा प्रयोगमा छन् । ‘कोठाका देउता खोपामा’ सरेका छन् । अर्थोक भन्दा पाहुना आउँदा समस्या । ओछ्यान लगाइदिने ठाउँ पुग्दैन । बुइँगलमा उक्लियो भ्याल्सीमा ड्याङ्ङ्ग टाउको ठोकिन्छ । तिरमिराउँदै तल ओर्लनुपर्छ । म मेरै घरमा कैयौंपल्ट त्यसरी तिरमिराएको छु । ड्याङ्ङ्ग । तिरिमिरी ।


भुकम्प पछि गाउँको मुहार भने अवश्य फेरिएको छ । घरहरु नयाँ बन्नाले बस्ती नै नवीन भएको छ । घरहरु भुकम्प प्रतिरोधी भएका छन् । पानी चुहिएर फेर्ने अबस्थामा पुगेको मेरै घर अहिले नचुहिने भएको छ । बलिया घरहरु बने । घरहरुको बलियोपना कसरी नाप्ने ? डियर भुइँचालो, एकफेर फेरि आइदिने कि यता ? थैट ! भो भो । कष्ट नगरियोस् । तर आइहाले पनि पहिलेजसरी हाम्रो घरलाई बाङ्गो पार्न सक्दैन कि ? थाहा छ भुइँचालो ! हामिले घर बलियो बनाएका छौं नि । पुनर्निमाण कार्यक्रमको सबैभन्दा सुखद पक्ष नै यहि हो । घरहरु भुकम्प प्रतिरोधि बने ।


पुनर्निमाण कार्यमा धन्यवादको मूख्य पात्र नेपाल सरकार हो । भलै मेरा गुनासा धेरै छन् यसका प्रति त्यसैले आलोचनाको मुख्य पात्र पनि यहि हो । नेपाल सरकार जसले क्षतिग्रस्त निजि आवास तथा समग्र पुनर्निमाण गर्न पुननिर्माण प्राधिकरण गठन गरि अनुदान कार्यक्रम ल्यायो यसले जनतालाइ आफ्नो घर बनाउन थोरै भएपनि भर ग¥यो । दातृ निकायहरु जसले पिडितहरुको पिडामा मलम बन्न आर्थिक भौतिक सहायता तथा साझेदारी प्रदान गरे । विभिन्न संघ संस्थाहरु जसले सरकार र जनताका बीच पुल बनी सहजकर्ताका रुपमा काम गर्न सके । घरधनीहरु जसले अनुदान कार्यक्रम अनुसार घरहरु बनाएर महत्वपुर्ण भुमिका निर्वाह गरे, लगायत सबै सम्बद्धहरु धन्यवादका योग्य छन् । त्यसबेला सुनेको मात्र भुकम्प प्रतिरोधि शव्द अहिले घरगाउँलेले पनि सहज अर्थ लाउन सक्ने भएका छन् । उनिहरुका घर नै भुकम्प प्रतिरोधिको अर्थ बोक्दछन् । गाउँ मै दक्ष डकर्मीहरु उत्पादन भएका छन् । स्थानीय सरजम कै उपयोगबाट पनि बलिया संरचना बनाउन सकिन्छ भन्ने सिकाइ भएको छ । प्रविधिको दीगो प्रर्वधन हुन्छ कि त ? जाग्दो आशाकोे श्रेय पनि नेपाल सरकार तथा विभन्न दातृ निकाय अनि संघ संथाहरुलाइ नै जान्छ । यसबखत खटिएका दक्ष प्राविधिक सामाजिक जनशक्तिले फैलाएका ज्ञान् अनमोल छन् । पुनर्निमाणमा जोडिएका यि सबै पक्षहरुको भुमिका अनुपम छन् ।


पुनर्निमाण कार्यक्रम महत्वपुर्ण अवसरका रुपमा उपयोग भएको हुँदाहँुदै हामी सबै चुक्यौं कि भन्ने लाग्छ । मलाई के लाग्छ कि, ‐मलाई मात्र लागेको हो कि तपाईंलाइ पनि लागेको हो मनन् गर्नुस् ।) सबैभन्दा पहिले हामिले हाम्रो मौलिकता गुमायौं । पर्याप्त ज्ञानको कमी, पुनर्निमाण अनुदान कार्यक्रमका सिमितता, थप आर्थिक बोझ थाम्न असमर्थ भुकम्प पिडितका बाध्यता जस्ता कारण साना घरहरु बने । यसमा घरधनीका रहर भन्दा बाध्यता धेरै छन् । पुननिर्माण प्राधिकरणले पनि घरधनीलाइ सोझै अनुदान दिनेभन्दापनि झन्झटिलो प्रक्रियागत लम्बाइ बढाएको अनि प्रसासनिक खर्च अलि बढि गरेकै हो । संयन्त्रको चुस्त परिचालन गर्न नसक्नु, प्राधिकरणको नेतृत्व फेरबदल गरिरहनु सरकारी दोष रह्यो । तैपनि पुनर्निमाण कार्यक्रम सफलतापुर्वक सम्पन्न उन्मुख छ ।


तर, अहिले मैले मेरो गाउँमा केहि चुनौतीहरु पनि देखेको छु । अधिकांश घरधनीहरुका घरले तिनका पारिवारिक, सांस्कृतिक, सामाजिक आवश्यकता नधानेका कारण थप संरचना निर्माण गर्न वाध्य देखिन्छन् । बनिसकेका घरहरुको पनि अनुदान किस्ता प्राप्तिपछि आफुलाइ आवश्यक  अनुसार तला थप नहोला भन्न सकिन्न । त्यसरि बन्ने घरहरु पनि भुकम्प प्रतिरोधि नै बन्छन् ? आशंका गर्ने ठाउँहरु छन् । कतिपय घरधनीहरुले निजि आवास पुनर्निमाण कार्यक्रम मार्फत अनुदान लिएर घर बनाएपनि आफ्ना पुराना घर पनि प्रयोगमा ल्याइरहेका छन् । त्यस्ता संरचनाहरु भुकम्पीय जोखिमका दृष्टिकोणले जोखिमयुक्त छन् । त्यस्ता घरहरु प्रयोग भइरहनुमा पनि बिभिन्न बाध्यताहरु जोडिएका छन् । कम्तीमा ती घरहरुले आफ्ना घरका कृषि उपज, डोका, डाला, फुङ्ला, पोका, पन्तेरा, बस्तुभाउ, घाँसपात आदीलाइ ओत दिइरहेका छन् । त्यस्ता चीजबस्तु ओताउन अर्को घर बनाउने क्षेमता पनि छैन । व्यबस्थापकिय चिन्ता नै मूख्य देखिन्छ । मैले मेरै कटेरो नभत्काएजस्तै तिनले आफ्ना सरजमको ‘ओतघर’ किन भत्काउँछन् ! तर, त्यस्ता जोखिमयुक्त घरहरुलाई सम्भाव्यता हेरि भुकम्पीय प्रवलिकरण गर्ने होभने त्यसको बहुपक्षिय फाइदाहरु हुने देखिन्छ । आवश्यकताका हिसावले धान्ने । सामाजिक, साँस्कृतिक मौलिकता जोगिने । आर्थिक बोझ कम हुने । भुकम्पीय जोखिम घटि सुरक्षित समुदाय निर्माण हुने अवस्था सिर्जना हुन सक्दछ । त्यस्ता जोखिमयुक्त घरहरुलाइ सम्भव भएसम्म प्रवलिकरण गरि अन्यलाई हटाउनेतर्फ आवश्यक कदम चाल्नुपर्ने देखिन्छ । राज्यले, नागरिकले विपद जोखिम न्युनिकरणका लागी पुर्वतयारीका कार्यक्रममा सँधै ध्यान पु¥याउनुपर्छ ।


एउटा कुरा मेरो मनमा सँधै घुमिरहन्छ । मेरा हजुरबुवाले आफ्नो पालामा घर बनाउनुभयो । बुवाले त्यसैगरि दुखले बनाउनुभयो । अहिले म निरन्तरता दिँदैछु यसरी पुस्तैनी घर बनाउने शृङ्खलाबद्ध कार्यको । प्रत्येक व्यक्तिले आफ्नो जीवनकालमा एउटा घर बनाउनै पर्ने हो ? हुन त प्रत्येक सांसारिक प्राणीले ‘घरजम’ गर्नु आवश्यक छ । ओ मान्छे ! के तपाइँले घरजम गर्नुभो ? ठुल्ठुलाा घरहरु बनाउनु अचेल समृद्धि कहलिन थाल्यो । के तपाइँ ‘समृद्ध’ हुनुन्छ ? यस्तै हो भने हाम्रो पालामा एउटा घरले नपुग्ने भो । दुइतिन घर बनाउनुपर्ने भो । धान्न सकिन्छ मान्छेहरु ! एउटै घरले पुस्तौं पुस्ता टिक्न,े दीगो आवास निर्माण गरि दीगो बस्ती बसाल्ने तर्फ अबको कदम चाल्न सकिन्न र ? हेल्लो प्राविधिज्ञजन् ! लौ न सकिन्न र ? नत्र हेर्नुस् त हर मानिसले आफ्नो जीवनको महत्वपुर्ण कमाइको हिस्सा घर बनाएरै सक्ने रहेछन् । एउटा पुस्ताले घर बनाउन खर्च गर्न नपर्ने भयो भने देशले कति पुँजि जोगाउँछ ? ए समाजशास्त्रीहरु ! कति जोगाउँछ ? अर्थशास्त्रीहरुले पनि हिसाब गरुन् । धन्यवाद !

Sunday, January 31, 2021

एउटा फरक रंगको दशैं

—पुष्प खड्का 


केहि वर्षयता हर साल हजुरआमा हामिलाई दशैंको टिका लगाइदिँदै  भन्नुहुन्थ्यो —“अहिलेसम्म यत्तिका छोरा—नातीनासँग दशैं मनाउन पाएको छु । थाहा छैन अर्को दशैंसम्म बाँच्छु बाँच्दिन !” म सोच्थें हजुरआमा अझै सय साल जीउनुहुनेछ । उहाँलाई हामी ढाडस दिँदै भन्थ्यौं —“तपाइँलाई कहिल्यै केहि हुँदैन मुमा !” त्यसो भन्दा उहाँ केहि हाँस्नु त हुन्थ्यो तर जीवनको नैराश्यता उहाँका आँखामा स्पष्ट देखिन्थे ।
आज पनि समयक्रमसँगै दशैं आएको छ । तर यो दशैं हामी माझ ठ्याक्कै पोहोर हजुरआमाले भन्नुभएजसरी आएको छ । मितिले दशैं त आएको छ तर हामी माझ हजुरआमा रहनुभएको छैन । म अहिले सम्झँदैछु, दशैंका दिन आ—आफ्ना ॅनयाँ लुगा’मा ठाँटिएर हजुरआमाकोमा जम्मा भएको । कति बेला टिका लगाउने बेला होला भनेर व्यग्रतापूर्वक पर्र्खिएको । खुशीले कहिले यता कहिले उता गरेको । म सम्झिरहेको छु त्यो स्वाद हजुरआमाले हातमा भएपनि पातमा भए पनि थापेर खाएको । उहाँका छोराछोरी तर्फका परिवार मात्र उहाँबाहेक हामी पैंतालिस (४५) जना रहेछौं । घरमै हाम्रो उमेर अनुसारका आ—आफ्नै झुण्ड बन्थे । आफ्नै शुरमा रमाउँथ्यौं । यति ठूलो परिवारमा त्यसरी आउने दशैंमा हामी कति खुशी हुन्थ्यौं, हजुआमा कति खुशी हुनुहुन्थ्यो भन्ने कुरा त्यसबेला ख्यालै नपुर्‍याएको तर अहिले गहिरो महशुस गरिरहेको छु । 
मेरो मानसपटलमा अहिले तिनै दशैंका झल्काहरुले यादहरु झिल्किरहेका छन् । यस्तो लागिरहेको छ कि, हजुरआमा हुनुहुन्थ्यो र पो दशैं आउँदो रहेछ । अहिले उहाँसँगै दशै पनि गएको छ । ति खुशीहरु पनि गएका छन् । हजुरआमा हाम्रो परिवारको मियो हुनुहुन्थ्यो । हामि उहाँका वरिपरि घुम्थ्यौं । अहिले मियो भाँचिएको छ । हामि मियो विहीन भएका छौं । त्यसैले त यो दशैं, दशैं जस्तो भएको छ्रैन । दशैंले हर्षोल्लास ल्याउनुपर्ने हो । उमंगपुर्वक उज्यालो ल्याउनुपर्ने हो । तर ठीक विपरित दशैं त अध्याँँरो आएको छ । कालो दशैं भएको छ ।
मैले थाहा पाएदेखि हाम्रो परिवारमा म नौ वर्षको छँदा यसैगरि कालो दशैं आएको थियो । जुन वर्ष हजुरआमाले अकल्पनीय रुपमा आफ्नो छोरा गुमाउनुपरेको थियो । जो मेरो बुवा हुनुहुन्थ्यो । त्यसबेला पनि दशैं खुब शुन्य भएको हो । हजुरआमाले पीरैपीरमा दशैं कटाउनुभयो । त्यसबेलाभन्दा बढि शुन्यता अहिलेको दशैंमा आएको छ । त्यसबेलाको बुवा विहीनता पनि हजुरआमाले महशुस हुन दिनुभएको रहेनछ कि त ! सबैजना उहाँसँगै जम्मा हुँदामात्रै पनि हामिलाई दशैं हुने रहेछ । मान्छेले बितेर गएको सम्बन्धलाई ज्यादा याद गर्दो रहेछ । सायद अभाव पछिको महत्व ! 
चाडपर्वले खुशीहरु ल्याउँछन् भन्नेमात्र बुझेका हामिलाई यो दशैंले खुशीको बहार मात्र उपहार ल्याएन चाडपर्वले शुन्यता, नैराश्यता, बेखुशीहरु पनि लिएर आउने रहेछ भन्ने वोध गराएको छ । समय कति अद्भुत हुन्छ ? साँच्चिकै जीवनको पाटो एउटामात्र हुँदैन । जीवनका अनेकौं पाटाहरु हुन्छन् । समयले जीन्दगीका तिनै फरक पाटाहरुलाई क्रमशः वोध गराउँदै लैजान्छ । 
हजुरआमाको शोकका बिच गुज्रँदै गरेको यो दशैंले जीन्दगीका रंगहरुको चमक केहि मधुरो पारेको छ । एउटा फरक रंगको दशैं अहिले हामिबाट गुज्रिरहेको छ । हजुरआमा ! हामिले धेरै ठूलो अभाव झेल्यौं यो दशैंमा । थाहा छैन आगेका दशैंहरुमा कसरी सम्हालिनेछौं । हामिलाई तपाइँको आर्शिवाद विहीनता सँधै खड्किइरहेको छ । तपाइँ जहाँ हुनुभए पनि हामिलाई आर्शिवाद दिइरहनुभएको विश्वास गर्दछौं ।

कविता

 उ भन्थी -

चरा झैं स्वतन्त्र आकाशमा उड्न पाए ! 

तर, उ के जानोस् 

सबै चरा कहाँ त्यसरी भुर्र उड्न सक्छन् र ? 

उ पेन्गुइन चरी पनि त हुन सक्थी !

माइक्रो को खुश्बु ।

-कथा
'जुम्मेकी रात हे चुम्मेकी बात हे…' यस्तो पो गित सुन्ने हो जाबो लोक गित पनि सुन्छन !

बडो टेस परिरहेको '…अमेरिका नि यहि जापान पनि यहि' वाला गित चेन्जिएपछी खलासी कराउन थाल्यो - 'थापाथली पुल्चोक माइतीघर रत्नपार्क !'लगनखेल बाट सुन्धाराको लागि माइक्रोमा चढेको मेरो ध्यान भने अहिले बजिरहेको गितको तालमा ठिक्क अग्लो अनि खैरो रंगको हिल जुत्ता लगाएर खुट्टा हल्लाइरहेकी युवतीमाथी छ । यस्तो लाग्दैछ यो गितले तिनको मन छोएर खुट्टासम्मै पुगेर हल्लिँदै छ । साँच्चै मान्छेलाई गितले कसरि छुन्छ कुन्नी ! महिला आरक्षण सिटको कारण म उसको सिटको अघिल्पटी उल्टो फर्किएर सम्मुख बसेको छु । झट्ट दुई सेकेन्ड नियालेँ अनुहारमा- ठिकै लाग्यो । मैले हेर्दा अन्यत्र ध्यान लगाए झैं गरेपनी मैले झ्याल बाहिर ध्यान लगाउँदा मलाई पनि हेर्दै गरेकी बुझ्न मलाई समय लागेन । यो पनि कम्तिकी कहाँ छे र, केटिहरुलाई पनि थाहा छ आकर्षणको मूल्य ! अब भने मैले पनि बजिरहेको गितमा चासो राख्नुपर्ने भो, सायद गितले छोओस मलाई पनि ।'अलि पर सर्नुस दाइ' खलासिको 'आदेश' मानेर बनेको अलिकती स्पेसमा अजङ्गकि आन्टिले करप्पै थिचिन । मलाई उनको पेलाई भन्दा पनि त्यो केटिको सम्मुखबाट अलि पर हट्नुपरेकोमा पिडा भो । मेरो पीडा त्यो खलासी अनि ती मोटि आन्टी के बुझुन बरै ।अलिक पर सरेको न हुँ, फेरि पनि सम्मुखमै थिएँ । यो पटक मैले हेराइको दर १/२ सेकेन्डबाट ९/१० सेकेन्ड लम्ब्याइदिएँ । उसले मुन्टो निहुराई दायाँबायाँ हेरि अनि त्यो अफ्ठ्यारो टार्ने अहिलेको आम उपाय रोजि सायद, ब्यागबाट मोबाइल निकालेर यसै ५/७ पल्ट स्क्रिन स्कोरल गरि अनि ब्याक गरेर होम स्क्रिन लक गरेर ब्यागमै राखी ।अघिसम्म 'ठिकै' लागेकि उसलाइ अहिले म राम्री देख्न थालें ।माइक्रोमा अहिले 'हुक्का बार' उस्तैगरी बज्दैछ जसरी तिनका सुन्दर खुट्टाहरु संगितको तालमा अझै उसैगरी स्वभाविक चलमलाई रहेका छन । 'यहाँ एकछिन रोकिदिनुस न' दायाँतिर ती मोटि आन्टिको चेपुवाबाट मुक्ति पाएर छेउको मजस्तै केटो कुपन्डोलमा झरेपछी भने मैले पनि गतिलो राहत पाएँ ।अलि सहज भएको मौका म पनि के कम ? फेरि एकपटक आँखा लगाएँ एकैछिन, आँखा जुध्यो । फिस्स हाँसें उ पनि मुस्कुराई । त्यसको मुहारमा अझ चमकता थपियो । सुहाउँदो मेकअप गरेकी गाजलु आँखाले झनै मोहित बनायो । यसै पनि मलाई मान्छेका आँखा मन पर्छन । सबै ईन्द्रीय मध्ये आँखा विशिष्ट ईन्द्रीय हुन । तिनका आँखा अझ बिशेश लाग्यो । औधी राम्री देखिइ ! फेरि पनि मेरो लामो हेराइबाट उम्किन पहिले जस्तैगरी मोबाइल निकालेर चोर औंला नचाउँदै निकै घुमाउरो प्याटर्न अनलक गरि । स्क्रिन २ पल्ट स्कोरल गरि तर यो पटक लक गरिन ओपेरा मिनि बाट फेसबुक खोलेर फेसबुक फिड्स स्कोरल डाउन गर्दैछे ।अघिदेखि मनमा लाग्दै थियो- यति राम्री केटिको नाउँ के होला ! सोचिहालें फेसबुक हेर्छु । यसो मोबाइल तिर चिहाएको थाहा पाइछ, स्क्रिन आफुतर्फ ढल्काई । सायद मेसेज पढ्दै थिइ मेरो अनुमानमा । अहिले भने मलाई महिला आरक्षण सिटको बेफाइदा महसुस भो ! अब चैं मलाई उसँग बोल्ने चिनजान गर्ने रहर भो । 'तिमिलाई कतै देखे/चिने झैं लाग्यो' वाला पुरानो शैलीले थालौं कि सोझै तिमिसँग दोस्ती गर्छु भनेर फिल्मी पारामा हात बढाउँ सोचेर वाक्य गुन्दै थिएँ 'खुश्बु नानी हामी यहिँ झरौं' भन्दै पछिल्तिर सिटबाट उठेकी अधबैंसेलाई 'हस भाउजू' भनेर ओर्लेर गइ । कस्तो बिडम्बना भो गइसकेपछी थाहा लाग्यो "खुश्बु" रै'छ नाउँ । तिनी उठ्दाको खुश्बु अझै माइक्रोभरी फैलिँदै थियो 'सुन्धारा आर.एन.ए.सी वीर हस्पिटल यहिँ झरौ' भन्ने खलासीको वाक्यबाट पो झस्किएँ ।

म यस्तो केसमा जहिल्यै ढिला भैसकेको हुन्छु सोच्दै भाडा तिरेर आफ्नो बाटो लागें ।

रसिकालाई चिठी


 प्रिय रसिकाजी !

अविरल सम्झना ।

म तपाईंको समेत कामनाले कुशल छु । तपाईंको पनि समय सुखद रहेको आशा गर्दछु । अचानक पत्र कोर्न मन लाग्दैछ । मेरो फोनको किबोर्डमा मेरा औंलाहरु चल्दै गर्दा मनमा पनि एक किसिमका प्रेमिल भावहरु उत्पन्न भैरहेका छन् । शव्दमा उल्लेख गर्न नसकिने ती भावातीतहरु व्यक्त गर्न त सक्दिन । त्यैपनी, मैले मेरा यस्ता केही अनुभुतीहरु जो मैले अरुसँग होइन तपाईं बाहेकसँग व्यक्त गर्न सक्दिन, जसलाई म आज लेख्दैछु । 

प्रिय मान्छे !

कुराको शुरु कहाँबाट गरौं ? आउनुस्, मनबाट शुरु गरौं । कुराहरु मनबाट गर्नुपर्छ । कुराको स्रोत मन हो । तर यो मन भनेको के हो ? कस्तो अमुर्त कुरा ! के मन अमुर्त हुन्छ ? या मुर्त हुन्छ ? कि हो पनि होइन पनि जस्तो हो ? मुर्त हुन्छ- हो मुर्त हुन सक्छ । अमुर्त हो- अमुर्त पनि किन हुनसक्दैन ! कस्तो अन्यौल भो । मलाई लाग्छ यो मन भन्ने कुरा त अन्यौल पो रहेछ ! कस्तो अन्यौल मन ? मेरो जीवन जस्तै अनिश्चितता, अन्यौलग्रस्तता पालेर म तपाईंलाई चिठी लेख्न बस्दैछु । थाहा छैन कस्तो चिठी लेख्छु । ए, साँची म त प्रेमपत्र पो लेख्न बसेको हुँ । प्रेमको चीठी !

चिठी लेख्नु अघि म एकछिन काठमाण्डु पुग्न चाहन्छु । धत्तेरी ! म काठमाण्डु भनेर अहिले ललितपुर पुगेको छु । मेरो स्मृतिमा गोदावरी ट्रेनिङ हलको बन्द ढोका खुलेको छ । कोठाजस्तै सुनसान मनको पनि ढोका एकसाथ खुल्यो । हल भित्र र मन भित्र एउटै मान्छे सरासर पस्यो । हलभित्र पसेको मान्छे आफू भएभन्दा पारी तरेर बस्यो । उच्च मनोबलका साथ समुच्च व्यक्तित्वले युक्त एक सौन्दर्य सुशोभिता पारी तरेको थियो । हलभित्रका मान्छेहरु आपसमा चिनजान गर्दै थिए । मन भित्र र हलभित्र पसेको सौन्दर्य सुशोभिताले पनि आफ्नो परिचय दिएकि थिई- 'रसिका श्रेष्ठ !' त्यसरी चिनाइएको मान्छे तपाईं हुनुन्थ्यो । मैले तपाईंलाई पहिलोपल्ट त्यसरी देखेको थिएँ । मेरो स्मृतिमा अहिले ताजा भएको संक्षिप्त विषय यहि छ ।

प्रिय मान्छे ! म प्रेम पत्र लेख्न जाँदैछु । होइन म जाँदै छैन । बाक्लो कुहिरोका कारण चिसो मौसमबाट जोगिनको लागि न्यानो सिरकभित्र पसेको छु । तपाईंले भन्नुभएको थियो- तपाईं किन सुन्दर शव्दहरुले युक्त प्रेम पत्र लेख्नुहुन्न ! शाब्दिक सौन्दर्य कसो लेख्दा हुने हो अनि त्यसलाई प्रेमिल कसरी बनाउने म माथी दोहोरो दबाव परिरहेको छ । यसरी खुम्चिएर पनि के पत्र लेख्न सकिएला र ? त्यसैले मैले प्रेम पत्र नलेख्ने निर्णय लिएको छु । प्रिय मान्छे ! मैले अहिले कति अप्रिय निर्णय लिएँ !


'प्रेम' लेखेर लेखिने वस्तु होइन । हुन त प्रेम वस्तु पनि कहाँ हो र ! साँची प्रेम के हो ? आउनुस् एकछिन बरु प्रेम पत्र लेख्न छोडेर प्रेम के हो भन्ने बहस गरौं । आइ मिन् विमर्श गरौं । बहस त पक्ष विपक्षमा पो गरिन्छ । तपाईं र म एकै पक्षधर हौं प्रेमको त्यसैले विमर्शै गरौं । जीन्दगी र प्रेमका कुरा जसरी लेख्यो त्यसरी देखिने, हर व्यक्तिले आफुले जसरी भोग्यो त्यसरी देखिने भिन्दाभिन्दै चित्र रहेछ । अझ भनौं चरित्र रहेछ । दृष्टिविहीनले हात्ती छामेर हात्तीप्रतिको धारणा बनाएजस्तो रहेछ प्रेम । मैले मेरै जस्तो तपाईंले तपाईं कै जस्तो भन्ने ! कुनै बेला तपाई भन्नुहुन्थ्यो - प्रेमको मामिलामा मेरो आफ्नै परिभाषा छ । मलाई अहिले जान्न मन छ, तपाईंको प्रेमको परिभाषा के हो ? अबश्य व्यक्त गर्नुहुनेछ । त्यो मलाई विश्वास छ । मलाई प्रेमको आधार आकर्षण हो भन्नेमा चाहिँ द्विविधा छैन । तर आकर्षणको जगमा अडिएको प्रेम आदर्श कसरी हो भन्नेमा मलाई गम्भीर अलमल परेको छ । भन्नेहरु भनिदिन्छन्- साँचो प्रेममा आकर्षण हुन्न । मलाई त लाग्छ साँचो प्रेममा गहिरो आकर्षण हुन्छ । जसरी मलाई आशक्ती छ तपाईंको । मलाई कहिलेकाही यस्तो लाग्छ, तपाई बेलाबखत भनी पनि रहनुहुन्छ- तपाईंले मलाई बुझ्नुहुन्न । तपाईंको कुरामा म सतप्रतिशत सहमत यस अर्थमा हुन सक्छु कि जुन अर्थमा म आफैंलाई बुझ्न सक्दिन । म मेरै बारे अनभिज्ञ छु भने तपाईंलाई कसरी बुझ्न सक्छु ? म बुझ्न सक्छु तपाईं बारम्बार सोच्नुहुन्छ, मैले तपाईंलाई शव्दमा प्रेम गरें अर्थमा गरिनँ । मैले प्रेम आदर्शमा गरें यथार्थमा गरिनँ । मैले तपाईंलाई प्रेम गर्छु भनें । प्रेम गरिनँ ! तर, प्रिय मिस् ! रसिकाजी, म तपाईंका आरोपहरु, आरोप शब्द कति उचित हो कृपया सच्याइदिनुहोला, खण्डन गर्दै लेख्दछु - म साँच्चिकै तपाईंको प्रेममा छु । म स्पष्टीकरण दिन यो भनिरहेको छैन तर पनि म स्पष्ट छु, मेरो मनैमा तपाईं हुनुन्छ । 


कसैले भन्थ्यो-प्रेम हुन विचार, व्यवहार, भाव मिल्नुपर्छ । कुन्नी ! तपाईंसँग मेरो के मिल्यो ? म प्रेममा परें । मलाई तपाईंको संगत प्यारो लाग्न थाल्यो । तपाईंलाई देख्ने अभिलाषाले मन भरिन्छ । मेसेन्जरमा तपाईंले पठाउने तपाईका तस्वीरमा म तपाईं प्रतिको न्यास्रो मेट्न कोशिश गर्छु । मलाई कहिलेकाहीँ त लाग्ने गर्छ- 'तस्वीरको सुवास हुन्थ्यो भने तपाईंको फोटोको नाउँ पारिजात हुने थियो ।' मलाई त्यस्तो आशक्ती छ तपाईं प्रती । उसो त तपाईंलाई लाग्न सक्छ रुप पक्ष मात्र उल्लेख गर्ने ? यो त सतही भो । यो त आकर्षण भो । कसरी प्रेम भो ? भन्न सक्नुहुन्छ । तर मैले दोहोर्‍याएर उल्लेख गर्न चाहन्छु कि प्रेमको आधार आकर्षण नै हो । तर आकर्षण मात्र होइन त्यो पनि प्रष्ट पार्न चाहन्छु । तपाईंको बानी छ- बर्षातको पानीमा हात फैलाउँदै भिज्ने । भन्नुहुन्छ - झरीको गन्ध कति अदभूत छ । फेरि म ! पानीमा भिज्यो कि उस्तै परे ज्वरो आइदिन्छ । तपाईंलाई प्रिय लागेको कुरा मेरो शरीरलाई किन अप्रिय लाग्छ मैले बुझ्न सकेको छैन । तर मेरो यो चाहना फेरि पनि प्रकट गर्न चाहन्छु- हाम्रो अबको भेटमा जरुर झरी परोस् । मस्त भिजियोस् अगाडि रसिकाको साथ । एकजोडा कफि कपहरुले हाम्रा ओठ न्यानो पार्ने सौभाग्य पाउन् । रसिकाजी, मैले यसरी न्यानो कल्पिँदा कहिलेकाहीँ मनमा अनायास चिसो पस्छ, कतै यी मेरा उत्कट चाह पूरा नहुने पो हुन् कि ! भन्नेहरु भनिदिन्छन्, प्रेम भनेको विश्वास हो । तर प्रेममा विश्वास मात्र होइन डर पनि अस्तित्वमा रहने रहेछ । मलाई कत्रो डर छ तपाईंलाई गुमाउने । म तपाईंलाई यो कुरा दुखका साथ भनिरहेको छु कि मलाई यस्तो डर विगतले दिलाउँछ । म विगत शब्द तपाईं माथी प्रयोग भएकोमा माफ माग्न चाहन्छु । प्रिय मान्छे ! म विगत सम्झिन चाहन्न । तपाईंको साथले विगत बिर्साउँछ । विगत बिर्साइरहेको यो साथको निरन्तरता हुन्छ नि ? 


एकजमाना थियो, मलाई प्रेमप्रती घृणा थियो । अहिले लाग्छ- पात्रको दोष मैले प्रेमलाई दिएछु । यो त जहिल्यै निस्कलंक हुने रहेछ । त्यसैले त रसिकाजी म प्रेममा छु । मलाई लाग्थ्यो- अब प्रेम गर्ने बेला होइन । 'विल यू म्यारी मि ?' सोधेर सोझै दम्पती बन्ने हो । तर मेरै सिद्धान्त विरुद्ध म त प्रेममा छु । मान्छेहरु भन्छन् - प्रेम र विवाह अलग हुन् । म त एकै हुन् भन्छु । अन्यथा, मान्छेले 'प्रेम विवाह' कसरी गर्छन् । यी अलग हुँदै होइनन् । यी पुरक हुन् । मैले पटकपटक झेलेको छु एउटा वाक्य - जीन्दगीको सवाल छ । विहे गर्दा ध्यान दिनु । के तिनले जिन्दगीलाई अजम्बरी भन्ठान्छन् ? ब्रह्मण्डको समयलाई आधार लिएर हाम्रो जीन्दगी गन्ने हो भने एक निमेषभर नभएको जिन्दगीलाई तिनेरु के भन्ठान्छन् ? मलाई त लाग्छ, मनोचाह, मनको भाव, प्रेमको पक्षमा नउभिने मान्छेको जीवन दुखी हुन्छ । भौतिक सुखभोगलाई मान्छेले जीवन भन्छ भने त उ जरुर दुखी हुन्छ । ऐश्वर्य त प्रेममा पो छ । प्रिय मान्छे ! कि छैन र ?


प्रेम लेखेजस्तो आदर्श, देखेजस्तो सुखद हुनसक्छ ? या यसको यथार्थ पाटो अलग छ ? मलाई यो प्रश्नले पनि बेलाबखत डर पैदा गर्छ । मलाई लाग्छ, तपाईंको डर पनि यहि हो । होइन भने होइन भन्नुस् क्यारे ! रसिकाजी, प्रिय रसिकाजी ! आउनुस् अब यथार्थलाई स्विकारौं ।मैले त स्वीकार गरेको छु । अहिले हामी बाँचेको कालको । अहिले हामी बसेको समाजको चरित्र कस्तो छ भने यसले अझै पनि प्रेमलाई सहज लिँदैन । यतिबिघ्न सांसारिक समाज छ र पनि उसले प्रेमलाई सहज लिँदैन । हुन त यो आध्यात्मिक सवाल भएर पनि हुनसक्ला । समाजको अंग परिवार हो । परिवारले समाजको स्वार्थ सिर्जना गरेको हुन्छ । त्यही सामाजिक स्वार्थको पुरकका रुपमा परिवारले भुमिका खेलिरहेको हुन्छ । मलाई यो समाजमा प्रेमको अस्तित्व सार एकातिर रुप अर्कोतिर झैं लाग्छ । कतै त्यही चेपुवामा हामी पनि पर्छौं कि ? यथार्थ बोध गरेको छु भन्दै गर्दा मलाई लाग्ने डर यो हो । आजभोलि समाज यसरी भौतिकवाद तर्फ अघि सरेको छ कि यसलाई अर्थोक चिन्तै छैन । सुख भनेको सुबिधा हो भन्छ । सन्तोषको कसलाई मतलव ? फेरि पनि यथार्थ स्वीकार गरौं, तपाईं पनि म पनि यहि समाजको सदस्य हुनुका नाताले हामिले पनि यो चरीत्र बोकेका छौं । हाम्रो परिवारले पनि यो चरित्र बोकेको छ । हामिलाई तोकेको भुमिका निभाओस् भन्ने हाम्रो परिवार हामिबाट चाहन्छ । र, पारिवारिक जीवन जिइरहेका हाम्रो प्रमुख दायित्व पारिवारिक चाह पूरा गर्नु हो । यसका लागि हामी एकल तथा सामुहिक प्रयास गरिरहेका हुन्छौं । यहि मौकामा म एउटा कुरा लेखिहालौं । मौकामा भन्नासाथ 'मौकामा चौका' शब्द याद आयो । के म मौकामा चौका हान्न खोज्दैछु ?  बिल्कुल हान्दैछु । म पनि एउटा परिवारको गठन गर्ने परिकल्पना गरिरहेको छु । मैले प्रस्ताव गरिसकेको छु, जसको आधा हिस्सा तपाईं लिनुस् । मैले कल्पना गरेको परिवार कस्तो हुन्छ ? तपाईंलाई यो स्वभाविक लाग्न सक्छ । तर म अस्वभाविक आश्वासन कसरी दिन सक्छु र ! हामी त यथार्थ स्वीकारोक्ती लेखिरहेका छौं । समाजको आम चरित्र हाम्रो परिवारमा पनि रहनेछ । परिष्करणको योगदान मेरो त रहन्छ । तपाईंको नरहने म कसरी कल्पिउँ ? म मेरो कल्पना यसरी बिचमा दोहोर्‍याएर पेश गर्न चाहन्छु- आउनुस्, हामी एक सुन्दर परिवार गठन गरौं । यसअघि विद्यमान परिवारका बारे थोरै लेखेथें । यो एक प्रमुख यथार्थ भएको हुनाले मुल कुरा यसमा केन्द्रित गर्नुपर्ने हो तर म विषयवस्तुबाट भड्किएको हुँ कि भन्ने मलाई लागेको छ । मलाई अस्तित्व बनाईरहेको मेरो परिवार अनि तपाईंलाई अस्तित्व बनाइरहेको तपाईंको परिवारको बनोट, चरित्र, परिवेश विल्कुल फरक फरक छन् । तपाईंका पारिवारिक स्वार्थ र मेरा पारिवारिक स्वार्थ पनि त फरक फरक छन् । अब यी फरक स्वार्थहरुलाई संयोजन गर्न हामिले भुमिका खेल्नुपर्छ भन्ने मलाई लाग्छ । 'प्रष्टोक्ति नै महत्वपूर्ण पाटो हो ।' अर्थात थाहा दिनु अनि प्रतिक्रियालाई अनुकुल बनाउनु अबको कर्तव्य हो । निभाउन कोसिस गरौं मिस् ! 

प्रिय मान्छे ! लेख्नपर्ने कुरा अविरल बग्ने नदि झैं छन् । के सकिन्थ्यो लेखेर ! तपाईं कै समर्पणमा म लेखिरहने छु । थाहा छ, आज पनि मैले जे लेख्न खोजेको हुँ सकिन । म प्रेम पत्र लेख्न बसेको थिएँ । आज पनि आदर्श नै लेखें । झर्को नमानी वा मानिमानी पढिदिनुभो मन हर्षित छ । 
मेरा अक्षरहरु जारी रहनेछन् । अहिले सप्रेम विश्राम लिन्छु । तपाइँका पल सुखद रहुन् ।

उहि,
तपाईंको म ।
पुष्प खड्का (फूल मान्छे)

खुश्बुलाई चिठी

 - पुष्प खड्का


पृय खुश्बु !
मधुर सम्झना ।

तिमी ठिक छौ भनेर विश्वास लिएको छु । सदा झैं आज मनभरी तिमी आएकी छौ । त्यसैले यो पत्र लेख्दैछु । म ठानिरहेको छु कि अहिले इमेल, ट्विटर, फेसबुक आदि सहज पहुँच भएको डिजिटल जमानामा किन हस्तलिखित पत्र लेख्यो होला बारे तिमी सोच्दैछ्यौ । मलाई लाग्यो, किबोर्डमा चल्ने औंलाहरु भर्चुअल बने कि ! मैले मनभरी इमानदारीता राखेर, कैयौं अपेक्षा सोचेर पठाएको मेसेजको अन्तिम रिप्लाइमा तिम्ले सजिलै लेखेजस्तै 'गफाडी' भएछु कि ! अर्थात भर्चुअल दुनियाँमा रियल खुशी अलमलियो ! जस्ता आत्मसोच यो पत्र लेख्दै गर्दा आइरहेका छन् ।
मैले यो पत्र लेखिरहँदा कोठा बाहिरको मौसम धमिलो छ । बाक्लो कुहिरोमा झुन्डिएको शीतले कुहिरोलाई माथी उड्न दिइरहेका छैनन् । सायद अब केही बेरमा हिउँ झारेर हलुका बन्दैछ कुहिरो । मौसमले हो या मनले, पहिलोपटक तिमिलाई भेटेको सम्झायो । माउन्ट कैलाश कफि सप जहाँ हामिले पहिलोपटक भेटेका थियौं । पहिलोपटक भेटेको यस अर्थमा भन्दैछु कि हामिले त्यस अघि माइक्रोबसमा देखेका मात्र थियौं । माइक्रोबसबाट ओर्लिएर आ-आफ्नो बाटो छुट्टिएपनी तिमी मेरो मनमा निकै दिन झुन्डिरह्यौ । बाटोमा कतै देखिन्छ्यौ कि भनेर आशाले हेरेका मेरा आँखा निराश हुन्थे । फेसबुकमा खुश्बु नाउँमा भेटिएका सबै एकाउन्टमा तिम्रो फोटो देखिएन । कैयौं दिन बिना काम सुन्धारा-लगनखेल माइक्रो चढिरहें । कैयौं दिन सुनधारामा लगनखेलबाट आउने माइक्रोबसबाट ओर्लिएकाहरु हेरिरहें । धेरै माइक्रोबसमा थुप्रै मान्छेहरु आइरहे तर कुनै दिन तिमी आइनौ । सुनधारामा पानी नआएजस्तै ।
निकैदिनपछी मैले मेरा मुर्खतापुर्ण आशालाई न्युनिकरण गरेर सामान्य अवस्थामा फर्काएँ । राजधानी शहरमा राजधानी जस्तै अस्तव्यस्ततामा अलमल्याएर ।
तिमिलाई थाहै छ कफि मेरो प्रिय स्वाद हो । म खुशी हुँदा कफिको याद आउँछ । अनि दुखी हुँदा कफिकै याद आउँछ । मलाई तिम्रो जत्तिकै कफिको याद आउँछ । त्यसैले अचेल मेरा हरेक बहानाहरुले बहानैपिच्छे कफि पिउने गर्छन् । ग्राहकहरु कुरेर बसेका केही जोर कुर्सी र एक्लो टेवुलको एक्लै म साथी बन्ने गरेका छौं । र मलाई एक्लै देखेर ल्याइएको मजस्तै एक्लो एक कप कफि मेरो हितैसी साथी बन्ने गरेको छ । म पनि टेवुलमा एक्लै परेको कफिको साथी बनिदिन्छु ।
प्रायजसो गईरहनुपर्ने भएपनि निकैदिनपछि अफिसको कामले बौद्ध पुगेको थिएँ । एक घण्टा कसैलाई कुर्नुपर्ने ड्युटी गर्नुपर्ने भो । यहि मौकालाइ छोपेर लागें आफ्नै प्रिय साथी भेट्न उहि कफि सप ।
एकैछिन पछि गुलावी ओठहरु प्रीन्ट भएको कफिको कप टेवुलमा मुसुक्क हाँस्यो । मेरा ओठहरु पनि त्यसैगरी हाँस्न खोजे । एक्लै परेको मलाई साथ दिन आइपुगेको कफिलाई मैले पनि सदाझैं साथ दिएँ । एकैछिन टाइमलाईन चहारेर अन्तिम चुस्की लिएको केही बेरमा वेटरले कफिको कप लिएर गयो । घडी हेरें, मान्छे कुर्नुपर्ने समय अझै आधा घण्टा बाकिँ रहेछ । कुर्नैपर्नेछ आखिर तर, मान्छे पर्खिन जत्तिको पेचिलो काम अर्थोक लाग्दैन मलाई । अरुबेला मिलिक्कै गएजस्तो लाग्ने समय कसैलाई कुर्दा कहिल्यै वित्दैन । अर्को पनि एक कप कफि मगाएँ । कफिसपमा 'किन किन तिम्रो तस्वीर ...' गीत बजिरहेको थियो । मैले पछिल्लोपटक मगाएको कफि आधा पारिसक्दा त्योभन्दा पहिला आइपुगेका छेउको टेवुलका एक जोडिले भेज म:म: खाने कि चिकेन् भन्नेबारे निर्णय लिन सकेका थिएनन् । चौथोपटक घडी हेर्दा एक घन्टा हुन पाँच मिनेट बाँकी रहेछ । फोन डायल गरें । केही बेरमा आइपुग्ने जानकारी पाएपछि कफि पसल मै बोलाएँ । कफिको कपजस्तै हाँस्दै वेटर फेरि आइपुग्यो । मलाई टेवुलमा एक्ल्याएर गयो ।
'ओ ! हाई !!'
एकछिन मोबाइलमा भुलिरहेको बेला आएको आवाजले मोबाइलबाट ध्यान भंग गरें । उस्तै गहिरा ठुला आँखा, उस्तै मुसुक्क खुलेका ओठ अनि उसैगरी खुलेको सौन्दर्य । तर पहिलेभन्दा फरक ड्रेसअप । पिङ्क ज्याकेट, निलो जिन्स पेन्ट, स्पोर्ट्स सुज अनि खैरो रंगको पछाडि बोकिएको ब्याग ।
म केही बेर अवाक भएछु ।
'मलाई चिन्नुभो ?' मेरो अलमल बुझेर बोलिएको थप बोलिपछी झस्कें ।
'तिमिलाई कसरी नचिन्न सक्छु ? मैले कसरी कहिले मात्र खोजिन खुश्बु तिमिलाई ! तिमी त यसरि आज भेटियौ ।' भन्न मन थियो तर 'ओहो ! तपाई कसरी आज यहाँ ? यतै बस्नुहुन्छ ? कफि पिउँ बसौं न !' एकैपटक बोलें ।
'हुन्छ ठिकै छ । तर म यहाँ कसैलाई एक घण्टा देखि कुराएर भर्खरै आइपुगेको छु । एक मिनेटको काम छ फोन गरिहाल्छु है !' निकै हतारिएर तिम्ले डायल गरेको नम्बरले टेवुलमै रहेको मेरो फोन बजायो । कस्तो आश्चर्य ! मैले पर्खिरहेको मान्छे तिमी बनेर त्यसरी भेटिएथ्यौ । बस्नै लागेको कुर्सीबाट जुरुक्कै उठेर - 'ओ माई गड ! ह्वाट अ सरप्राइज ?' भनेर तिमी चिच्च्याउँदा टेवुलका टाउकाहरु हामिजस्तै आश्चर्यजनक मुद्रामा हामितिर फर्किएका थिए । सामजस्यता सहित थप एक जोडि कफि पिइसकेर मोबाइल नम्बर त एक घण्टा अघि नै थियो, फेसबुकमा पनि जोडियौं । टुइटरमा फलो फलोइङ गरियो । म 'खुश्बु' खोज्थें तिमी 'खुशी' नाउँमा रहिछौ के भेटिन्थ्यो ! खुश्बुलाई भेटेपछी अफिसले दिएको काम सकेर मनभरी खुशी बोकेर फर्किएको थिएँ ।
बेलुका अनलाइनमा गरिएको कुराकानीबाट थाहा लाग्यो - कला कि विद्यार्थी रहिछौ ललितकला क्याम्पस पढ्दै गरेकी । मैले सोधेको थिएँ- 'तिमिले कला किन पढेको ?'
'किनकी कलामा मेरो जीवन छ ।' तिम्रो जवाफ थियो ।
'कलामा कस्तो जीवन हुन्छ ?' मेरो प्रश्न थियो ।
'सम्पुर्ण जीवन । एउटा खास खालको जीवन हुन्छ । जीवहरुले मात्र होइन निर्जीवहरुले पनि जीवन पाउँछन् कलामा ।'
'कसरी ?'
'मनमा सजीवता चाहिन्छ ।'
त्यसपछि के भन्ने लागेर लेखिदिएँ- 'है !'
प्रतिप्रश्न आयो- 'हैन र ?'
'तिमिले भनेपछि होला !' आफू पन्छिन यस्तो लेखें । तर तिमि पन्छिने वाला थिइनौ - 'मतलव मैले नभनेको भए चैं होइन भन्ने तपाईंको कुरा ?'
अब के भन्ने !
"हैट !" लेखेर एउटा स्माइली पठाएँ । उताबाट पनि 'थम्ब्स अप' प्राप्त भो ।
कलाकारहरुका कुरै गहिरा ! लेखें - कसरी आउँछन् यस्ता कुरा ?
'सतहमा रम्ने बानी छोडे कुराको गहिराई बढ्छ ।'
'कसरी ?'
'मेरा कुरा सुनेर ।' एउटा स्माइली सहितको मेसेजमा फेरि लेख्यौ - 'तर मेरा कुरा धेरै नसुन्नु ।'
'किन ?'
'फेरि डुब्नुहोला भनेर ।'
'तिम्रा कुरा नसुन्दै पहिल्यै डुबिसकेको छु ।'
'कहाँ ?'
'तिम्रा आँखामा ।'
'हा हा गफाडी !'
'छैन गफाडी ।'
'देखियो ।'
'हैट हैन ।' फेरि स्पष्टीकरण दिएँ - 'कम्तीमा तिमिजत्तिको गफ दिन म सक्दिन सायद ।'
' हा हा ...'
अचानक भेटिएकी तिमिसँग आज यसरी कुरा गर्न पाउँदा खुशी लागिरहेको थियो । लेख्न खोजें - 'कस्तो संजोग ! फिल्मी शैलीमा भेटियौ ।' तर मैले लेखिनसक्दै तिम्रो मेसेज आयो - 'संयोगवस भेट भयो खुशी लाग्यो ।'
मेरै भाव तिमिले पठाएपछी मैले टाइप गर्दै गरेको मेसेज डिलिट गरेर लेखें - 'मलाई पनि खुशी लाग्यो । अबको भेट कहिले जुर्ला ?'
'यस्तै अर्को एक संयोग जुरेपछी । ' तिमिले लेख्यौ - 'संयोगपुर्ण भेट पो रोमाञ्चक हुन्छ ।'
'तिर्र तिर्र ....!'
कोठाबाहिर सिठ्ठी बज्यो । म डस्टवीन बोकेर महानगरको गाडि भएतिर दौडिएँ । फोहोर फ्याँकेर म आइपुग्दा तिमी गइसकिछौ ।
खाना खाइसकेपछी - 'रोमाञ्चक संयोग चाँडै जुरोस् भन्ने चाहना छ' लेखेर मैले पनि एक थान जीन्दगीलाई खाटमा पल्टाइदिएँ । भोलिपल्ट अबेर ब्युँझिएर हेर्दा मोबाइलमा टेक्स्ट मेसेज थियो - 'साँझ ५ बजे पछि कफि पिउँ है !'
'ओके, स्योर ।' - हत्तपत्त रिप्ल्याएँ ।
केही दिन निकै व्यस्त भएँ । शनिबार भएकोले अफिस छुट्टी थियो । निकै ढिला उठेर खाना खाइसकेपछी व्यक्तिगत सरसफाइ सकें । अचानक फेरि तिमी सम्झनामा आयौ । मोबाइल निकालेर नम्बर डायल गरें । स्विच अफ बतायो । फेसबुक खोलें मेसेन्जरमा तिम्रो नाउँ 'फेसबुक युजर' लेखिएको थियो । मेसेज पठाउन नमिल्ने गरि डिएक्टिभेट गरिछौ । ट्विटर हेरें । तिम्रो लास्ट ट्विट उहि दश दिन अघिको थियो । डिएम गरें - 'असाध्यै भेट्न मन छ । कता छ्यौ ?'
निकै दिनसम्म फेसबुक, टुइटर चेक गरिरहें, फोन डायल गरिरहें कतैबाट तिमी सम्पर्कमा भेटिइनौ । कफि पिएको दिन सम्झें । म भन्दा पहिले कफि पसल पुगिसकेकी थियौ । सँधै बोलिरहने स्वभावकि तिमी त्यस दिन गम्भीर मुद्रामा देखिन्थ्यौ । मैले धुम्मिएको वातावरण खुलाउन भए पनि तिमी हाँसिदिनुपर्छ भनेपछि तिम्रा ओठहरु केही तन्किएका थिए । मुहार उज्यालिएको थियो ।
तिम्ले भन्यौ - 'आज अलि मन तनावमा छ यार, त्यसैले भेट्न बोलाएको ।'
हामिले कुरिरहेको एक जोडि कफिका कपहरुले कतिबेला देखि हामिलाई कुरिरहेका रहेछन् । ती एकजोडी कफिका कपहरु एकसाथ उठे । मैले सोधें -'त्यस्तो के विषय हो जसले त्यति स्वच्छ तिम्रो मनलाई तनावपूर्ण बनायो ? मिल्छ भने व्यक्त गर । जान्न चाहन्छु ।'
'कुनै दिन भनौंला । बस् आज कफि पिएर साथ देउ । दिन्छौ नि ?'
'एक कप कफिका निम्ति मात्र ? तिमी भन्छ्यौ भने जीन्दगी तिम्रा निम्ति साथै छ ।' भन्न मन थियो तर भनें - 'साथ दिएको छैन र !'
'अँ छौ ।'
अनि एउटा कुरा सोधुँ ?
'सोध न । तिमिले धेरै कुरा सोधे हुन्थ्यो जस्तो लाग्छ ।'
हा हा ... के के सोधे हुन्थ्यो जस्तो लाग्छ ?
'जे जे तिम्रो मनले जान्न खोज्छ ।'
त्यसो भए पहिलो प्रश्न- आज किन टेवुलमा तिमी मात्र आयौ, खुश्बु ल्याइनौ ?
'खुश्बु कसरी आउँछ र !'
तिमी हाँस्यौ भने आउँछ ।
वातावरण खुश्बुमय भयो । जब तिमी उज्यालिएथ्यौ झलमल ।
निकैबेर गफिएपछी छुट्ने बेलामा एउटा पेन्टिङ चित्र गिफ्ट दिँदै भनेकी थियौ - 'तिम्रो कोठाको भित्तामा राख्नु, मेरो सम्झना स्वरुप ।'
मैले पनि भनेको थिएँ- कोठाको भित्तामा हैन मनको पनि भित्तामा रहनेछ यो तस्वीर ।
'थ्याङ्क यु !' गुलावी ओठहरु खुलाएर मुसुक्क हाँस्यौ । कतै जान लागेको भन्न खोज्दै थियौ तर मैले त्यसलाई महत्त्व नदिएर सोधेको थिएँ - 'अब कहिले भेट्ने ?'
'फेरि यस्तै संयोग जुर्‍यो भने ।' पहिलेजस्तै जवाफ दिएकी थियौ ।
मैले एकोहोरो पठाएका थुप्रै डिएम हरु, इमेलहरु अनि तिम्रा बारे मनमा उब्जिएका अनेक प्रश्नहरुले कुनै उत्तर पाएका छैनन् । त्यसपछिका कैयौं दिन म बसेको टेवुलले एक जोडि कफिका कपहरु कहिल्यै भेटेन । मैले मेरो मनको अनि घरको दुवै भित्तामा सजाएको तिम्रो पेन्टिङमा त्यो तिमी जस्तै सुन्दर फूलबाट खस्दै गरेको विहानी शीतको निहारिका जस्तै तपक्क तिमी कता चुहियौ कता ? कफि पसलका साहुजीलाई छोड्नको लागि लेखेको यो चिठी तिमिले पढ्दैछ्यौ भने मेरो अर्को पनि प्रश्न यहि हुनेछ - खुश्बु ! अब अर्को संयोग कहिले जुर्छ ?

- उही, म ।

Recently Popular

होलिको शुभकामना !

धुस्रे-फुस्रे नभन  त्यो मैलो गाउँलेहरुको पृय रंग हो  आफ्नै माटोले रंगाएको । पसिनाका लेग्रालाई- छि ! नभन  त्यो मेहनतको सजीव चित्र हो  ग्रामीण...