पसिनाका लेग्रालाई- छि ! नभन
त्यो मेहनतको सजीव चित्र हो
ग्रामीण मसीले कोरिएको ।
तिमी पो कलरफुल शहरमा छौ !
चिटिक्क लुगा लगाएर,
टिलिक्क टल्काउँछौ रंगहरु ।
फूल झैं कोमल मन भा'को मान्छे हुँ । रिसको ढुङ्गाले हिर्काउनेलाइ मायाको फूल उपहार फर्काउन रुचाउँछु । घुमफिर तथा लेख्न पढ्न मन पर्छ । #Logophile
![]() |
| —पुष्प खड्का |
वि.सं. २०७२ सालको गोरखा भुकम्प पछि क्षति पुगेका निजि आवास पुनर्निर्माण कार्य अहिले करिब सम्पन्नान्मुख छ । पुनर्निर्माण पछि बनेका अधिकांश घरहरुले उनीहरुको आवश्यकता नधानेको गुनासो घरधनीहरुले सुनाउन थालेका छन् । पुनर्निर्माण कार्यक्रमको उत्तरार्धमा हाल केहि भुकम्पीय पुनर्निर्माणका क्रममा बनेका घरहरुले तेस्रो किस्ता प्राप्तिपछि घरको संरचनात्मक फेरबदल गरि तला थप वा बिस्तार गर्ने प्रचलन देखिन थालेको छ । यसरी आफूखुशी तला थप वा बिस्तार गर्दा सुरक्षित पुर्नर्निमाण कार्यक्रममा सफल अवधारणाका रुपमा अपनाइएको ‘अझ बलियो’ (Build Back Better) अवधारणामा केहि चुनौती थपिने सम्भावना देखिएको छ ।
दोलखा जिल्लामा अहिले विभिन्न ठाउँका घरधनीहरुले यसरी तला थप्ने वा घर बिस्तार गर्ने क्रम देखिन थालेको छ । मुख्यतः बसिरहेको घरले पारिवारिक आवश्यकता पुरा नगरेको कारण नै घरहरुको बिस्तार गर्नुपरेको भनाई घरधनीहरुको छ । घरको तला थप गर्नुपर्ने बाध्यताको अर्को कारण अरु घर संरचना निर्माण गर्न जग्गाको अभाव रहेको र नयाँ संरचना निर्माण गर्न खर्चिलो हुने कारण सोहि घरमा संरचनात्मक फेरबदल गरि थप कोठाहरु निर्माण गर्नुपरेको धारणा उनीहरुको छ ।
![]() |
| दुइवटा घरलाई जोडेर एउटै बनाई तल्ला थप गरिएको । |
| घरमा जस्ता र काठ प्रयोग गरि तला थपिएको । |
| गारोवाला घरमा तला थप, छत ढलान तथा पिरलको प्रयोग । |
भीमेश्वर नगरपालिका धरामघर गोलाईका घरधनी पदम बहादुर खत्रीले पनि आफ्नो घरसँगै जोडेर एउटा नयाँ कोठा थप्नुभएको छ । भान्साको समस्याले कोठा थप्नुपरेको बताउने उहाँले पुनर्निर्माणका क्रममा बनाउनुभएको घरमा बन्धनहरुको प्रयोग गरेको भए पनि पश्चिम तर्फ थप्नुभएको कोठामा भने यस्ता कुनै बन्धनहरुको प्रयोग गरेको देखिँदैन । पुरानो घर १ तलामात्र भएको र परिवार ठूलो हुँदाको समस्याले कोठा थप्नुभएको कुरा उहाँका छिमेकी ईन्द्रबहादुर खत्रीले समेत जानकारी दिनुभयो ।
| सँगै जोडेर अर्को कोठा निकालिएको तर थप गरिएको संरचनामा बन्धनको प्रयोग नदेखिएको । |
किँरातीछाप टोलकै अर्का घरधनी इश्वर बहादुर थापाले पनि इँटा सीमेन्ट जोडाइ भएको आफ्नो घरमा तला थप्न छाना खोल्ने तयारी गर्दै हुनुहुन्छ । उहाँलाई पनि यसरी तला थप्दा सुरक्षित नै हुन्छ जस्तो चाहिँ लाग्दैन तर पनि बस्ने ठाउँको अभाव र नयाँ घर बनाउन वरिपरि घडेरी नभएको कारण यहि घरमा माथिपट्टी २ कोठा जती बनाउने सोच्नुभएको छ । “अर्को घर बनाउन खर्चले धान्न सकिन्न । अहिले भएको घरमा मलाई बस्न मुस्किल परेको छ । श्रीमती मुटुको विरामी भएको कारण स्याहार गर्नको लागि बेग्लै कोठा भैदिए हुन्थ्यो भनेर थप्ने विचार गरेको हुँ ।” यसरी जथाभावी निर्माण गर्नुभन्दा प्राविधिकको सल्लाह लिनु उचित हुने बलियो घर कार्यक्रम घुम्ती प्राविधिक टोलीको सुझाव पछि भने ईश्वर बहादुर सरसल्लाहको लागि नगरपालिका जाने बताउँदै भन्छन्,— “मलाई नथपि त भएकै छैन । कसो गर्दा बलियो हुने हो नगरपालिका गएर अलिकदिन पछि बनाउँछु । समयमा नै आएर सम्झाइदिनुभयो धन्यवाद छ ।” छिमेकमा यसैगरि घरमा तला थप्ने क्रम शुरु भएपछि आफूले पनि सोहि सिको गरेको समेत उहाँको भनाइ छ ।
![]() |
| छानो खोलि तला थप गर्न तयारी गरेको घर । |
खासगरि ग्रामिण भेगका किसानहरुले घरलाई बस्नको लागिमात्र नभई उनीहरुको कृषि तथा पशुपालन वा यससँग सम्बन्धित सामाग्री, औजारहरु वा कृषि उत्पादनको भण्डारण र व्यबस्थापन समेत कार्यमा प्रयोग गर्नुपर्ने हुँदा आवश्यकता मुताविक घरमा कोठा वा तल्लाहरु थप गर्न सक्दछन् । पुनर्निमाणकै क्रममा यस प्रकारको सामाजिक वास्तविकतामा गहण अध्ययन नहुँदा अहिले मानिसहरुले धमाधम आवश्यकता अनुसारका संरचना थप्ने क्रम शुरु गरेका छन् । असुरक्षाको ज्ञान हुँदाहुँदै पनि यसरी जथाभावी परिमार्जन गर्न थाल्ने हो भने सुरक्षित समुदाय निर्माण अभियानमा चुनौती थपिने निश्चित छ । तला थप वा विस्तार गरेका अधिकांश घरधनीहरुले प्राविधिकको सल्लाह नलिएको वा लिन मनसाय नराखेको देखिन्छ । घरधनी इश्वर बहादुर थापाका अनुसार ‘प्राविधिकलाई सल्लाह मागेपनि नथप्नु नै भन्ने वा बढि खर्च लाग्ने तरिकाहरु आउने तर घरमा थप कोठाहरु नभई नहुने भएपछि बाध्यतावश’ प्राविधिक सल्लाहप्रति अनिच्छा राख्ने गरेको देखिन्छ । मानिसहरुलाई तला थप वा कोठाहरुको बिस्तारकार्य सुरक्षित तवरले गर्ने प्रावधान सरकारी तहबाटै बाध्यकारी बनाउनुपर्ने खाँचो देखिन्छ । यहि सन्दर्भमा पुनर्निर्माण कार्यमा प्राविधिक सहायता प्रदान गरिरहेको एक संस्था एनसेट बलियो घर कार्यक्रमका संयोजक एवं ईन्जिनियर आयुष वास्कोटाले यस्तै समस्यालाई मध्येनजर गरि सरकारी तहबाटै पुनर्निर्मित घरहरुको सुरक्षित विस्तार गर्ने निश्चित पद्धतीको निर्माणकार्य अन्तिम चरणमा पुगी लागु हुने क्रममा रहेको हुनाले घरधनीहरुलाई अभिमुखीकरण गरि केहि समय धैर्य गराउनुपर्ने विचार व्यक्त गर्नुभएको छ ।
| जस्ताको प्रयोग गरि छतमाथि कोठा निकालिएको घर । |
![]() |
| तल्ला थप गर्ने कार्य भइरहेको निर्माणस्थल । |
(भीमेश्वर नगरपालिका आसपासका केहि टोलहरुमा अवलोकन तथा घरधनीहरुसँग गरिएको संक्षिप्त कुराकानीका आधारमा पुष्प खड्काद्वारा तयार गरिएको घटना अध्ययन सामाग्री ।)
प्राकृतिक स्वच्छपनकि चरित्र तिमि
अद्भुत सुकोमल तनकी पवित्र तिमि
कसरी बखान गरूँ तिम्रा गुण र विशेषता
धनकी त कुवेर रहिछौ मनकी दरिद्र तिमि
प्रेम उत्सव रे अचेल !
मैले पनि भेटें अहिले
एउटा अपरिचित आफन्त प्रेम
जो मसँगै रहेछ-
आफैंले देख्न नसकेको आफ्नोपन
रुमल्लिँदा रुमल्लिँदै जिन्दगीबाट
म आफैंदेखी भेटिइन छोडेको
जो मसँगै रहेछ-
आफैंले चिन्न नसकेको आफ्नो मन
आज
उही अपरिचित आफन्तलाई
राखिहेर्छु प्रेम प्रस्ताव
जान्छु एकल प्रेमिल डेटिङ
आफैंदेखी बिरक्तिएको आफ्नै मनसँग
स्वयम् देखि निरपेक्ष बाँचिरहेको
भन्नूमात्रैको आफ्नै मनसँग
र,
गुनासो गर्छु आफ्नै मनलाई
ए मन ! तैंले तेरै मालिकलाई भन्दा बढी
कसलाई राखिस आफुभित्र ?
©पुष्प खड्का-2020
भेट किन गरिन्छ ?
कसैले भन्यो-
न्यास्रो मेट्न भेटहरु गरिन्छन् ।
ओ मान्छे !
तर, मेरा लागि तिमि सँगको भेट
न्यास्रो मेटिनेभन्दा
यादहरु झन् बल्झने किन हुन्छन् ?
मैले यो उल्झन कहिल्यै बुझ्न सकिन
प्रिय मान्छे !
शुभ जन्मोत्सव ।
आज उसको विशेष दिन । धरतीमा एउटा उज्ज्वल तारा अवतरण गरेको दिन । अर्थात उसको जन्मदिन । मैले अहिलेसम्मको जीवनमा वोध गरे अनुसार - मानिसको जन्म साश्वत यात्रा रहेछ । जीन्दगी दु;ख र सुखका संवेगहरु बोकी हर्ष र पीडा बीच पग्लिदै, छचल्किदै बहने खोला रहेछ । मैले जीन्दगीलाई उसको जन्मदिन पारेर यसैगरी अर्थ्याएको छु । जन्मदिनको सुरुवात पनि त जीवन यात्राको लागि सुर्योदय हो जसरी हर विहान उदाउँछ एक आशाको उज्यालो सुर्य । त्यस्तै जाज्वल्यतापुर्वक आज पनि उसको एक अर्को जन्मदिन पदार्पण भएको छ । यससँगै जीवनलाई उसले थप एकसाल अनुभवी तुल्याएकि छ ।
जीवन हर साल ज्ञानले समृद्ध बन्दै जाने रहेछ । यो निकै महत्वपूर्ण पक्ष हो । यसकारण पनि, उसलाई यो अबसरमा हार्दिक बधाई अनि शुभकामना छ ।
उसँगको चिनजान, संगत तथा सबथोक मलाई प्रिय लाग्छ । त्यसैले उसको जन्मदिन पनि मलाई प्रिय लागेको छ । आज रिवाइन्ड भएका छन् स्मृतिका हर एक कुनामा उ अनि उसँगकै पलहरु । जसलाई आज म शुभकामना शव्दमा अटाउन त सक्दिन तर पनि केही नलेख्न पनि सकिन । जति भुल्न खोजे पनी उसलाई जसरी जती जलाउन खोजेपनी जहाजको ब्ल्याक बक्समा रहिरहन्छन् त्यहाँका सुचना, त्यसैगरी सुरक्षित रहने रहेछन् मान्छेका यादहरु । यस्तै यादहरु, न्यास्रोहरु, खुशीहरु सँगालिएर त जीन्दगी बन्दोरहेछ !
उसको जन्मदिनको अवसरमा उसलाई सँधै खुशी मिलोस् भनेर शुभकामना छ । जीन्दगीले कहिल्यै पछि फर्कन नपर्ने गरि प्रगतिशील पथ नछोडोस् । सबैको प्रिय बन्नु । उ माथी भगवानको सदैव अनुग्रह रहिरहोस् । प्रत्येक पल आवेगलाई विवेकले र उत्तेजनालाई संवेगपुर्ण चेतनाले जित्न सक्नु ।
प्रिय मान्छे !
शुभ जन्मोत्सव ।
छुट्टीको दिन कहिलेकाँही रमाइलो गर्ने मेसो मिलाएर अघोषित सेड्युल अनुसार कहिले कता कहिले कता निस्कनु हाम्रो अनियमित नियमितता जस्तै बनेको थियो । यस्तै मेसो अनुसार शनिवार सिनेमा हेर्नेबारे साथिहरुसँग सल्लाह थियो । शनिवार मेरा लागि जहिल्यै फुर्सद भित्रको अफुर्सद बन्छ । व्यक्तिगत कर्म, नुहाइधुवाइ लगायत मौका मिले साथिभाइ घुमफिर त्यै दिन धान्नुपर्छ । निकैजेल देखि बजेको फोनका तर्फ ध्यान लगाउँदा ‘हेल्ला’े भन्न नपाइ साथि जिस्किएको सम्झन्छु ‘नयाँ साल लागेको यत्रो दिन लागिसक्दा पनि तँ सुध्रेनस् । हामि आइपुगेकै १५ मिनेट भो, आइज खुरुक्क सुन्धारा !’ ए, सुध्रिनलाइ सुन्धारा पो पुग्नुपर्ने रहेछ ! नुहाएर आउँछु भनेर उत्तर बोल्दा – हाम्लाइ भेट्न नुहाइरहनु पर्दैन भनेर तिनिहरु पड्कन्थे । त्यसबेला नेपाली चलचित्र ‘रेसम फिलिली’ भर्खरै रिलिज भएको थियो । त्यहि हेर्न हामि पनि सुन्धारा स्थित सिभिल मलको टुप्पोमा पुगेका थियौं । टिकट लिएर हलभित्र छिर्नु अघिको समय साथिहरु भकुण्डो हुत्याएर लहरै रहेका पोलहरु लडाउने खेल ‐खेलको खास नाउँ के हो अहिले पनि जान्दिन) खेल्दै थिए । नामै नजानेको खेल म के खेल्थें, रेलिङमा आड लागेर हेर्दै थिएँ । सबैजना हामिजस्तै हल छिर्नु अघिको समयलाई आफ्नै शैलीमा व्यतित गरिहेका थिए । धेरैजसो आ–आफ्नो मोवाइलमा घोत्लिएका थिए । एक कोण पपकर्नलाइ केन्द्र पारेर ढल्किएका दुई थान टाउकाहरु पनि पपकर्न भन्दा निजका फोनहरुतर्फै बढ्ता ध्यान लगाएका देखिन्थे । मान्छेहरु आफ्नै मोवाइल हेर्न सिभिलमल सम्म किन पुग्छन् ? मैले त्यतिबेला मात्र होइन अहिले पनि बुझेको छैन । जे होस झुण्ड झुण्डका मस्ती हेरेर मै मस्त भएको थिएँ । अचानक सिभिल मल हल्लिन थाल्यो । शुरुको केहि बेर के भएको भन्ने अनुमान भएन । कसैले बोल्यो – भुइँचालो ! मलाइ त्यसपछि बल्ल थाहा लाग्यो भुइँचालो रहेछ । हलभित्र हेर्न गएको हल नछिर्दै रेशम फिलिलि भइयो नि ! त्यसबखत कति अत्यास लाग्दो थियो । हलमा भयंकर कोलाहल मच्चियो । अग्लो भवनको सबैभन्दा माथि भएर पो हो कि, भुकम्पको धक्काले बढ्तै हल्लिएको जस्तो मलाइ त्यसबेला लागेको थियो । गुँड भत्किएका कमिला जस्ता भएका थिए मान्छेहरु । सबै आफ्नै सुरमा यताबाट उता, उताबाट यता दौडिरहेका थिए । ती दौडिनेहरुमध्ये एक म पनि थिएँ । के गर्ने भन्ने शुर भए पो गर्नु, अरुहरुले जसो गरे उसै गरियो ! जीन्दगीको ‘राम नाम सत्य’ त्यसैेदिन रहेछ भन्नेमा म विश्वस्त थिएँ त्यसैले थप दौडिन छोडेर पिल्लरको भित्तोमा अडिएँ । एकछिन अघिसम्म अँगालो मारिरहेका प्रिय मान्छेहरु अहिले छिन्न भिन्न देखिन्थे । एक जना अलिक वृद्ध देखिने बुवा पनि सकि नसकि ‘भगवानको लीला !’ ‘राम ! राम !!’ भन्दै सिँढि ओर्लँदै हुनुन्थ्यो । मानिसहरु सबैभन्दा अघि को पुग्ने झैं बुढो बा लाइ वास्ता नगरि तँछाढ मछाड गर्दै दौडँदै थिए । मानौं त्यहाँ कुनै दौड प्रतियोगीता भइरहेको छ । र, ती प्रतियोगी मध्ये एक दौडाहा म पनि थिएँ । मैले पनि ती बा’लाइ उसैगरि छोडेको थिएँ जसरि अरु गरिरहेका थिए । विपत्तीका बेला आफ्नो बाहेक अरुको ख्याल पु¥याउन फुर्सदै नहुने रहेछ ।
भवन बाहिर मुल सडकमा निस्कँदा सडकमा गाडी र मान्छेहरु खचाखच देखिन्थे । केहि मोटरसाइकलहरु रोड मै पल्टिएका थिए । कतिपय घर पर्खाल भत्किएका थिए । टुँडिखेलको गेट लडेर मोटरसाइकललाइ थिचेको थियो । बीर अस्पतालका स्वास्थ्यकर्मीहरु सडक मै उपचारको प्रवन्ध मिलाउँदै थिए । सबैको अनुहार त्रसित थियो । ती तर्सिएका मुहारहरुमध्ये एउटा मुहार मेरो पनि थियो ।
सँगै सिनेमा हेर्न भनि भेटिएका, बरु गाँस छोड्नुपर्ने तर साथ छोड्न नहुने साथीहरु पो कतिबेला कहाँ छुटे ? बल्ल याद भएथ्यो । ‘आफू भलो त जगत भलो ?’ घरपरिवार पनि त्यो बखत याद आएथे । कसैसँग सम्पर्क हुन सकेन । मोवाइल फोनको नेटवर्कमा समस्या आइसकेको रहेछ । बल्ल मन आँत्तियो । साँची, गाउँका घर रहे ? घरमा एक्लै भएकि बहिनी कुशल छे ? के आमालाइ दिदीले रक्षा गर्नुभो ? निकैजेलमा मोवाइल सम्पर्क भएपछि थाहा लाग्यो सबै सूरक्षित हुनुन्छ।
बीर अस्पतालमा घाइतेको चाप खचाखच थपिँदो थियो । स्वास्थ्यकर्मीहरु पनि के गर्ने के नगर्ने अलमलमा देखिन्थे । एक जना बुढो बुवा जो केहि बेर अघि भुकम्पको समयमा सिभिल मलको सिँढिमा ओर्लनेहरुको ठेलाइ झेल्दै हुनुन्थ्यो, उहाँलाइ कसैले बोकेर ल्याउँदै थियो । उहाँको निधारमा चोट देखिन्थ्यो । भुकम्पका बेला बेवास्ता गर्दै अगाडी दौडनेमध्ये एक म आफैं पनि हुँ भन्ने सम्झँदा अहिले पनि आत्मग्लानी हुन्छ । एक किसिमको हिनवोध अहिले पनि हुन्छ । ए बुढा बा – मिल्छ भने मलाई माफ गरिदिनु ।
उपलव्ध जनशक्तिले धान्न नसक्ने गरि त्यहाँ विरामीको भिड बढेको थियो । कसैले भन्दै थियो – ‘विपत्तीको बेलामा हामी सबै डाक्टर हौं । आउनुस् सबैले स्वास्थ्यकर्मीलाइ सहयोग गरौं ।’ उपचार गर्ने त्यो पनि मैले ? आजसम्म कहिल्यै नगरेको काम ! त्यै पनि वीर अस्पतालले उपलव्ध गराएको मास्क र पन्जा लगाएर कस्सिँए । प्राथामिक उपचारको काममा हामीहरु जुटेका थियौं । जटिल चोटग्रस्तहरुलाई डाक्टर भएठाउँसम्म पु¥याइदिन्थ्यौं । पछि बिस्तारै व्यबस्थित भयो । नेपाली सेना तथा प्रहरीहरुले त्यहाँ सहयो गर्न थालेका थिए । त्यसबेलाको एउटा प्रसंग म अझै सम्झन्छु । मानिसहरु त्यहाँ नअटेका घाइतेहरुलाई सडकमा गुडेका जुन गाडि भेट्यो त्यसैमा चढाएर नजिकको अर्को अस्पताल लगिदिन आग्रह गरिरहेका थिए । चालकहरु पनि सकेको सहयोग गरिरहेका थिए । एउटा आधा निलो आधा रातो प्लेट भएका,े सायद मन्त्रीको ? गाडि पनि वीर अस्पताल अघि जाममा थियो । उक्त गाडिलाई पनि कसैले एक जना विरामीलाई टिचिङ अस्पताल पु¥याइदिन आग्रह गर्दै थिए । गाडि चालक ‘मन्त्री लिन हिँडेका’े, ‘मिल्दैन’ भन्दै पन्छिन खोज्दै थिए । “बिपदको बेलामा राजा न मन्त्री ! सबैले सहयोग गर्नुपर्छ ।’ मेरो मुखबाट फुत्कियो – मन्त्रीको गाडीले किन बिरामी बोक्न हुँदैन ? सबैले ‘हो हा’े भने । एकजना बिरामी सहित दुई जना आफन्त उक्त गाडीमा चढे । तर, अहिले मलाइ के लाग्छ भने, मन्त्रीहरुले नितिगत निर्णय लिनुपर्छ । विपदका बेला झन धेरै समयको महत्व हुन्छ । हामिले त्यसरी अलमल्याउन हुन्नथ्यो कि ! माननिय पुर्व मन्त्रीज्यु ! तपाइँको गाडीलाइ बाटैमा अलमल्याएकोमा हामीलाई माफ गर्नुहोला ।
सबैभन्दा दुखद कुरा मलाइ त्यस बेला के लागेको थियो भने भिमसेन थापाले बनाएको ऐतिहासिक धरहरा लडेको थियो । राष्ट्रको धरोहर ढलेको थियो । मलाइ अलि बढि दुख लाग्नुको अर्को कारण पनि हुनसक्छ, मैले चढ्न नपाइ काठमाण्डौंको धरहरा लड्यो ! साँच्चै मलाइ धरहरा प्रति लगाव रहेछ । ‘हेर्दा हेर्दै लड्यो नि ! कति मान्छेहरु रेलिङबाट तल हेर्दै थिए । कोहि चढ्दै थिए । कोहि ओर्लँदै थिए । सबैको एक चिहान भयो । यहिँ पुरिए ।’ प्रत्यक्षदर्शी बताउने पानीवाला, जो मिनरल पानीका बोतल बेच्दै थिए, ले बताएका थिए । ती पुरिएका हरुमा आफु कल्पिँए । एकछिन् मन सकस भयो । धरहरा चढ्ने रहर तत्क्षण खण्डहर भयो । एकछिनपछि ७–८ जनाको एक हुल युवाहरु कतै फटाफट आउँदै गरेका देखिन्थे । तिनिहरुले आ–आफ्नो टाउकोमा नेपालको झण्डा बेरेका थिए । ‘बसन्तपुरमा धेरै मानिस पुरिए र’े भन्दै थिए जाँदै थिए । मसँग उनिहरुले झैं टाउकोमा बेर्न नेपालको झण्डा त थिएन तर म पनि रित्तै टाउको उनिहरुको पछि लागेर बसन्तपुर पुगें । त्यहाँ पनि कहालीलाग्दो वातावरण थियो । विदेशी पर्यटकहरु आँत्तिएका थिए । नेपाली सेना त्यहाँ पनि खोज तथा उद्धारामा खटिइसकेका थिए । उपलब्ध मान्छेहरु सबै लाम लागेर इँटाहरु पन्छाउँदै नेपाली सेनालाइ सहयोग गरिरहेका थिए । ती झण्डावाला ८ जनाको झुन्डमा मिसिएको म सहित ९ जना पनि त्यहि लाइनमा इँटा पन्छाउन सहयोगी बन्यौं । त्यसअघि कहिल्यै नचिनिएका र फेरि कहिल्यै नभेटिएका ती आठै जना गर्विला साथिहरु जसले सुन्धारा तिर अलमलिइरहेको मलाइ पनि तिनको समूहमा मिसाएर गौरवान्वित पारेथे, लाई म अहिले सधन्यवाद सम्झिरहेको छु । एक झुन्ड साथिहरु ! धन्यवाद ।
साँझमा पुतलीसडक फर्किएँ । डेरा रत्न गल्लीबाट स¥यो । सिंहदरवारको भित्र खुला चौरमा बस्ने भइयो । डराइ डराइ निकालिएका केहि थान ब्लाङ्केट्स थिए तर छानो त खुला आकाश । सुत्ने ठाउँ ‘रिजर्भेसन’ गरिसकेपछि भिनाजु र म बजार निस्कियौं बेलुकीको खान्की जोहो गर्न । तन्दुरी पसलमा रोटी किन्ने अनि दही लैजाने सल्लाह गरेर दहि त किन्यौं तर रोटि पाइन मुस्किल देखिन्थ्यो । रोटि किन्न त्यसरि त्यति लामो लाइन लागेको मैले पहिलोपल्ट देखेको थिएँ । दोस्रोपल्ट देखेको छैन । ‘सबैले बाँढेर खानुपर्छ । एकजनाल चार वटा मात्रे रोटि पाउँछ । पीठो सकिन लाग्यो ।’ साउजी भन्दै थिए । नियमानुसार हामिले पनि लाइनमा दुइ जना भएका कारण आठ रोटिका हकदार भयौं । ती आठ रोटि र एक लिटर दहिले त्यस साँझ हामी छ जनाको छाक टारेको थियो । शरणार्थी शिविर जस्तो भएको थियो सिंहदरबारको चौर । सँधै हामिलाइ शहरीया रवाफ देखाउने पल्लो घरकि ‘घरवेटी माँ’ पनि त्यहि शिवीरमा देखिइन् । के डेरावाला के घरवेटी ! एकैठाउँ ल्याइदिएको थियो भुइँचालोले । सबैभन्दा डर चाहिँ – अब झन् ठुलो आउँछ रे !, ध्वस्तै पार्छ रे !, प्रलय पो हुन्छ रे ! यस्ता ‘रे !’ ले तर्साउँथे । सबै त्यसै भन्थे । हो कि झैं लाग्थ्यो ।
काठमाडौको जीन्दगी त्रास र अभावको रह्यो । बिरामी आमालाइ सिंहदरवारको चौरमै दिदीलाइ जिम्मा लगाएर दोलखा फर्किने विचारले पुरानो बसपार्क तिर बिहानै निकिएँ । बस पाउने छाँटकाँट थिएन । फर्किएँ । भोलिपल्ट पनि गएँ । हालत सोहि थियो । बसहरु पाइन्थे । सीटहरु पाइन्नथे । बसभाडा हजार तिरे छतमा डन्डीमा झुन्डिनलाइ ठाउँ पाइन्थ्यो । तीन सय तिरे पुगिने दोलखा पुग्न हजार तिर्न बाध्य पारिएर छतमा झुन्ड्यिाइएका थिए यात्रुहरु । त्यसरी झुन्डिएकाहरुमध्ये छतमा झुन्डिने एक यात्रु म पनि थिएँ । विपदका बेला सहयोगी बन्नुपर्नेमा यातयात व्यबसायीहरु पनि ‘मौकामा चौका’ हानिरहेका थिए । प्रायः यातयात कम्पनीहरु आफ्नो नाउँका पछि ‘सेवा’ जोड्छन् । तर, त्यहाँ सेवाका नाममा खुलेआम लुट भइरहेको थियो । तिनीहरु विपदमा सहयोगी बनिदिएको भए हुने भन्ने अहिले पनि लाग्छ । डियर गाडीवाला ! त्यसो गर्न सकिन्नथ्यो ? के बाध्यता थिए ?
बाटोमा बसको छतबाट देखिएका सिन्धुपाल्चोकका क्षतिग्रस्त घरहरुले त्रासको तह झन् बढायो । ती घरहरुमा म आफ्नो घर देख्थें । वातावरणले हो कि मनस्थितीले मनको स्थिती कहालीलाग्दो भएको थियो । गाउँमा आइपुग्दा जनजीवन स्पष्ट त्रस्त देखिएको थियो । घरहरु क्षेतिग्रस्त थिए । मानिसहरु के गर्ने के नगर्ने अन्यौल मानसिकतामा गुज्रेका थिए । गुँड भत्किएको चरा झैं बेघर भएका थिए । म पनि घर पुगें । घर पुगें कि घर भएठाउँ पुगें ? एउटा बेघर चरि, मेरि स्नेही बहिनी घर बाहिरै थिइ । मलीन मुहारले बोली – ‘घर भत्किइहाल्यो दाइ !’ हाम्रो घर लडिहालेको त थिएन । तर, नराम्ररी चर्किएको थियो । पहिले म घर पुग्नासाथ सरासर घरभित्र पुग्थें । मलाइ घरप्रति कत्रो लगाव थियो । मलाइ मेरो घरप्रति कति विश्वास थियो । साँच्चै मेरो घर मेरा लागि कति ठुलो भर थियो । घरभित्र हुँदा आफुलाइ सुरक्षित ठान्थें । त्यस दिन त्यस घरमा सँधैजस्तै सरासर पुगेको थिएँ । तर म घर बाहिर मात्र पुगेको थिएँ । मलाइ त्यत्रो भर दिइरहेको घरले मलाइ किन डर दिइरहेको थियो ? ए घर, मलाइ किन डर दिइएथ्यो ? एकफेर म एउटा लाइटर निकाल्ने कामले घर भित्र पसेको थिएँ, पसेको मात्र के थिएँ एकै सासमा म बाहिर निस्किएको थिएँ । मलाइ त्यत्रो डर यहि घरले दिएको थियो जो मलाइ भर दिँदैथियो ।
गाउँमा मुख्य समस्या नै बासको थियो । व्यक्तिगत बास बस्ने अस्थायी बन्दोबस्त गर्नको लागि तत्काल सम्भव भएको थिएन । माथ्लाघर ढुंगेल दाजुले टमाटर रोप्न लगाएको ‘टनेल’ हामी सबै टोलबासीको घर बन्यो । त्यसैमुनी लहरै ओछ्यान् लगाएर सुत्यौं । एकदिन त हुरि बतास सहितको पानीले त्यहि पनि उडाइदियो । टालटुल पारेर फेरि लगायौं । त्यसबेलाको कष्ट अहिले सम्झिन त मन छैन तर, बिर्सन पनि त कहाँ सकिँदो रहेछ र ! खासगरि टोलका महिला, बालबालीका तथा बृद्ध सदस्यलाइ असाध्यै कस्ट पुगेको थियो । हामीलाई निकैजेल ओत दिने टनेललाइ धन्यवाद । ए ‘टनेल’, थ्याङ्क यु !
गाउँमा उपलव्ध चित्रो भकारीहरु अपर्याप्त थिए । फेरि तिनले पानी पनि तर्काउन्नथे । चित्रोमाथि प्लास्टिक या पाल राख्न सके त गज्जव हुन्थ्यो। तर त्यसबेला को त्रिपाल र हिमालयन यति एउटै थियो । पाइन्छ रे ! आयो रे ! ल्याए रे ! प्रसस्त सुनिन्थ्यो तर देखिन्नथे । बाँड्नेहरु पनि सडकको पहुँचका आधारमा मास्तिरै बाँढेर फर्कन्थे । आकाशमा हेलिकप्टरहरु बाक्लै उड्थे । गाउँलेका आशाका आँखा पनि ‘मास्तिर’ै हेर्थे । हजुरआमाले एक दिन भन्नुभएको थियो – ‘सर्खारले यता चाहिँ हेदैन क्या हो बाबु !’ ए सर्खार , साँची त्यसबेला हाम्री हजुरआमालाई किन हेरेनौ ? सायद अन्य ठाउँमा जाँदा भ्याएनौ होला ।
बल्लतल्ल गाउँमा पालहरु आइपुग्न लागे । त्यसपछि आ आफ्नै पाल घर बनाउँदै एउटै परिवार बनेको ‘टनेल घर’बाट मानिसहरु ‘भिन्दो’ हुन थाले । गाउँमा काठबाँसको त समस्या नहुने तर छानो कै समस्या हुने रहेछ । हार्डवेयर पसलहरुमा सकिएका जस्तापाताहरु नआउन्जेल मानिसहरु पालमुनि नै पालिए । छानोमा हामी यति परनिर्भर बनिसकेछौं कि अलिकता ‘राहत थाप्न’े लोभमा दिनभर लाम लाग्न सक्ने हामी गाउँमा पाइने छ्वाली, खर आदीले सहजै सकिने छानो छाउने सीप कसैसँग रहेनछ । विपत्तीमा विकल्प पो सोच्नुपर्ने रहेछ । ‘कटेज’ बन्न पनि सानो दुखले सम्भव भएको थिएन । जस्ताको छानो जस्ता कै बारबेर पारेर बनाइएको एउटा अस्थायी कटेरो जो कटेज नाउँले गाउँभरि प्रसिद्ध भयो,ले हाम्रो परिवार करिब २ वर्ष पाल्यो । एउटा कोठा । त्यहि भान्छा, त्यहि सुत्ने, पढ्ने, घरभरिका सामान अटाइदिने त्यहि । सम्पुर्ण घर त्यहि कटेरो थियो । भन्नै परेन कष्टकर जरुर थियो । हामीलाइ छानो दिने त्यो एक कोठे ‘कटेज’ अहिले पनि दाउरा तथा अन्य राखनधरनलाइ ओत मात्र दिइरहेको छैन करिव दुई वर्षको कटेज बसाइले नयाँ घर पुनर्निमाणको अनुभव पढाउन समेत सफल रहेको छ ।
मेरो गाउँको नाउँ काटाकुटी जो काष्ठकुटीबाट बन्यो, काष्ठमण्डपबाट काठमाण्डु बनेजसरी । मान्छेहरु मेरो गाउँलाई सशंकित हुँदै सोध्छन् – काटाकुटी कस्तो डरमर्दो नाम ? काट्ने कुट्ने गाउँ ? ए डरपोक मनुवाहरु ! नडराओ । यो काटाकुटी काष्टकुटी थियो । योगीहरुको तपोभुमी थियो।
काटाकुटीको भुकम्प पछिको परिदृष्य हेर्ने हो भने केहि घरहरुका धुरीले गारोको आड पाउन छोडेपछि भुइँमा बजारिएका थिए । तर धेरै घरहरु त्यसरि भुइँमै छानो पुग्ने गरि गल्र्याम्गुर्लुम लडेका थिएनन् । घरहरुमा क्षेति पुगेका थिए तर टाढाबाट हेर्दा घरहरु ठाडै देखिन्थे । ‘दोलखामा खासै क्षति छैन’ भन्ने अभिव्यक्ति दिने दोलखाका एकजना तत्कालीन प्रसासकीय अधिकारीले दोलखालीको ‘राम्रै खप्की’ भेटेका थिए । धन्न नराम्रो हुन पाएन । ए दोलखाली लोग ! उनि चढेको हेलिकप्टरबाट तिम्रा हाम्रा घरका छाना धुरी मै देखिन्थे । भुइँमा देखिन्नथे । त्यसमा तिनको के दोष ? दोष हेलिकप्टरको हो । दोषी हेलिकप्टरलाई कारवाही गरियोस् । डियर हेलिकप्टर ! मलाई माफ गरियोस् । तर, दुखभित्र पनि सुखद कुरा यो थियो कि घरहरु गल्र्याम्गुर्लुम नलडेका कारण काटाकुटीबासीले कुनै मानविय क्षेती व्यहोर्नुपरेन ।
अबका वर्ष पुनर्निमाणको वर्ष हुने, नेपाललाइ सुरक्षित पुनर्निमाणको सुनौलो अबसर भएको, भुकम्प प्रतिरोधि घर पुनर्निमाणमा सरकारले अनुदान दिने । त्यो बेलाका आशालाग्दा समाचारहरु यस्ता थिए । मौलिकता हराउने हो कि भन्ने चिन्ताले पनि त्यसबखतका चिन्तकहरु चिन्तिन्थे ।
नयाँ बन्नको लागी पुरानोको अस्तित्व मेटिनुपर्छ । साँची, नयाँ बन्न पुरानो हटाउनैपर्छ ? काटाकुटीमा पनि पुनर्निमाणको सुरुवात पुराना क्षेतीग्रस्त घरहरुलाइ भत्काएरै भएको थियो । भुकम्पका धक्काले हाम्रो घर पनि मेरुदण्ड भाँच्चिएको मान्छे जस्तो बा∙ोटि∙ो उभिएको थियो । बाङ्गा बस्तुहरु झेल्न अलि कठिन हुने रहेछ । बाङ्गा घरहरु, बाङ्गा मुढाहरु, बाङ्गा मान्छेहरु ! ए बाङ्गो घर– हामीलाइ तेरो चुनौती स्वीकार छ भत्किन तयार हुनु । मनमनै त्यस्तो धम्की मैले मेरो बाङ्गो घरलाई दिएको थिएँ । तर हामिलाई घरले नभत्कियुन्जेल सामना ग¥यो । हामिले घरलाइ नभत्काउन्जेल सामना ग¥यौं । हाम्रो बाङ्गो घर त्यसरि भत्काउनुअघि मैले मेरा सोझो स्वर्गीय बुवालाइ सम्झिएको थिएँ । जसले मलाइ नौ वर्षको छँदै छोडेर गएपनि हामीलाइ त्यो घर बनाइदिएर जानुभएको थियो । उहाँको जीवनको कमाइको एक महत्वपुर्ण हिस्सा, जो काठमाण्डु इन्द«चोकतिरका गल्लीहरुमा सुनौला पसिनाले सिंचित गरेर छोराछोरीका खुशीका खातीर कमाइएका थिए । भरिया जीन्दगीको अमुल्य समय, बुवाको अनमोल श्रम त्यो घरमा लगानी भएका थिए । गारोका प्रत्येक ढु∙ामा, प्रत्येक काठपात, दलीनहरुमा म बुवाको मेहेनत प्रष्ट देख्थें । हामीलाइ घरभित्र राख्न उहाँको कत्रो योगदान रहेछ मैले त्यसबेला महशुुस गरेको थिएँ । पुज्यनीय बुवा ! म तपाइँको ऋण तिर्न सक्दिन । कृपा गरेर आफ्नो खातामा ‘चुक्ता’ लेखिदिनुहुन्छ कि ? अँ, ‘बा !’ व्याज त हिसाबै नगरे हुन्छ सकुँला र?
बुवाको त्यत्रो मेहेनतले ठडिएको घर ढलाएर पन्छाउन हामीलाइ एघार दिन लाग्यो । आफुबाहेक रु एकचालीस हजार दुइ सय पचास ज्याला मैले तिर्नुपरेको थियो । बुवाको एक डायरीमा उल्लेखित हिसाबलाई आधार मान्ने हो भने त्यसबेला यो घर बन्न एक लाख एक्काइस हजार सात सय बीस रुपैंया लागेको रहेछ । जसमा मैले घर भत्काउँदा आफ्नो खर्च नजोडेजस्तै बुवाको श्रम त्यसमा जोडिएको थिएन । सबै तिर्नुपर्ने रकमहरुमा गोलो घेरा लगाएर ‘चुक्ता’ लेखिएका थिए । तर, माफ पाउँ बा’ मैले अहिले घर बनाउँदा लागेको खर्चमध्ये कतिपय रकमहरुमा अझै ‘चुक्ता’ लेख्न बाँकि छ । अवश्य लेख्नेछु, निश्चिन्त हुनुस् ।
निजि आवास पुनर्निमाणका लागी सरकारले अनुदान रकम उपलब्ध गराउने भयो । तर सो रकम सशर्त थियो । मापदण्ड पुरा गरि घर बनाउनुपर्ने । अनुदान किस्ताबन्दीमा पाइने । भुकम्प, पराकम्पहरुले किस्ता किस्तामा हाम्रो घरको चर्काइ बढाएजस्तै ! गाउँमा सबैभन्दा अफ्ठ्यारो यहि थियो, अनुदान लिन भुकम्प प्रतिरोधि घर बनाउनुपर्ने । भुकम्प प्रतिरोधि घर कसरी बन्छ जान्ने कोहि थिएन । सरकारले दाता सम्मेलन गरेर प्रशस्तै रकम जम्मा गरेकोले सरकारसँग टन्नै पुँजी छ । पक्की घर सबैलाई बनाइदिन्छ भन्नेहरु पनि थिए । भुकम्प प्रतिरोधी घर बारेका जानकारीमुलक सामाग्रीहरु त्यसबेला रेडियो टेलिभिजनहरुमा देख्न सुन्न पाइन्थ्यो । कागजका पर्चाहरु पनि भेटिन्थे भुकम्प प्रतिरोधि घरबारे । त्यसबाहेक कसैलाइ यसबारे ज्ञान थिएन । डकर्मीहरुमा पनि अन्यौल थियो । प्राविधिकहरु खटिएका थिएनन् । कतिपय घरहरु त्यहि ज्ञानको अभावका बीच पनि बनेका थिए । त्यसबेला अनुदान भन्दापनि टहरे जीन्दगीमा पारिवारिक आवश्यकता अनि बाध्यताले गाउँलेलाइ गाँजेको थियो । फलानो घर यसरी भत्कियो फलानो यसरी भत्किएन । ठुलो घर बनाउन नहुने रहेछ । नश कस्न पर्ने रहेछ । भुकम्प पछि डकर्मीहरुमा यस्ता ज्ञान फुर्न थालेका थिए । यसो गरे हुन्छ कि भनेर अनुमानका आधारमा पनि भुकम्प लगत्तै केहि घरहरु त्यसरी बनेका थिए ।
गाउँमा प्राविधिकहरु खटिने, अभिमुखीकरण कार्यक्रमहरु र डकर्मी तालिमहरु संचालन हुन थालेपछि भने पुनर्निमाणले गति लिन थालेको थियो । ‘भुकम्पको घर’ कस्तो बनाउने भन्ने सीप स्थानीय डकर्मीहरुले जानेका थिए । यसको श्रेय पुनर्निमाणमा काम गरिरहेका संघसंस्थाहरुलाइ जान्छ । त्यसबेला तालिम लिएर आउनुभएका डकर्मी काका भन्नुहुन्थ्यो – ‘भुकम्पको घर बनाउन अब जानियो । एनसेटले दिएको तालिम राम्रो लाग्यो । तालिम लिएका डकर्मीहरुको तिनचारोटा समूह बनाएर घर बनाउनुपर्छ भनेका छन् ।’ त्यसबेला ‘भुकम्पको घर’ भन्नाले बिभिन्न डि.पि.सी. ÷ बन्धनहरु राखेर बनाइने दुइ कोठे घर बुझिन्थ्यो । ठुलो घर बनाउन पाइँदैन । अग्लो घर बनाउन पाइँदैन । बनाए पास हुँदैन अनुदान पाइँदैन । यस्ता कुराले त्यसबखत मानिसलाई साँच्चै खुम्च्याएको थियो । आफुखुशी बनाउन पनि नसकिने अनुदान लिउँ घर साह्रै सानो ! इन्जिनियरहरुसँग गाउँलेको प्रमुख टकराव नै ‘यत्रो घरमा कसरी अट्ने, अलि अग्लो बनाउन देउ’ भन्ने नै हुन्थ्यो । कहिलेकाहिँ यो ‘टकराव’ले ठुलो रुप लिन्थ्यो । एकफेर एकजना इन्जिनियर बनिरहेको घरमा पुगेछन् । यो मिलेन त्यो मिलेन भन्न थालेछन् । लगाएको गारो भत्काइदिएछन् । त्यसपछि गाउँलेहरुको झोकमा – ‘अगाडी नआउने अनि एकछिन आएर यता मिलेन त्यता मिलेन भनेर हप्काउने ?’ भनेर डकर्मीले इन्जिनियर बहिस्कार गर्नेसम्मको अवस्था आएर तत्कालीन गा.वि.स. कार्यालयले संयोजन बैठकै राख्न परेको थियो । बैठकपछि ‘चित्त माझामाझ’ गरेका उनिहरु त्यसपछि पनि बेलामौकामा आपसी चित्तदुखाइ गर्थे । मुख्य विषय त उहि थियो– ‘यत्रो घरमा कसरी अट्ने ? ए इन्जिनियर सर ! अलि अग्लो बनाउन दिनुस् ।’ मलाइ पनि लाग्थ्यो, ए इन्जिनियर सर ! घर अग्लै बनाउन दिनुस्, तपाइँको के जान्छ ? फेरि सोच्थें, सायद तिनको जागिर जान्छ । जागिरै जान पनि त भएन साँची ।अनि प्राविधिकलाइ, सरोकारवालालाई सुरक्षाको गणित झैं आवश्यकताको गणित बेलैमा सुझेको भए के जान्थ्यो !
केहिले आवश्यकताले बाहेक धेरैले विलखवन्धनमा परेर दुइ कोठे घरहरु बनाए । त्यस्तै दुइकोठे घरधनीमध्ये एक म पनि हुँ । जो मेरा प्रिय बा’ले बनाइदिएको तीनतले घरबाट आफैंले बनाएको दुइ कोठामा साँघुरिएको छु । पहिले हाम्रो घरमा भिन्दै पुजाकोठा थियो । भण्डारकोठा थियो । बुइँगल थियो । बार्दलीभरि कोठाहरु थिए । चुलो कोठा थियो त्यहाँ पनि चौको, मुल अँगेनो, मुल ओछ्यान जस्ता ठाउँहरु थिए । मुल थाम, आँटोहरुले आ–आफ्नै सांस्कृृतिक अर्थ बोकेका हुन्छन् । तिनिहरुले प्रतीकहरुको प्रतिनिधित्व गरिरहेका हुन्थे । अहिलेको हाम्रो घरमा एउटा कोठा सुत्न, एउटा भान्छाका रुपमा प्रयोगमा छन् । ‘कोठाका देउता खोपामा’ सरेका छन् । अर्थोक भन्दा पाहुना आउँदा समस्या । ओछ्यान लगाइदिने ठाउँ पुग्दैन । बुइँगलमा उक्लियो भ्याल्सीमा ड्याङ्ङ्ग टाउको ठोकिन्छ । तिरमिराउँदै तल ओर्लनुपर्छ । म मेरै घरमा कैयौंपल्ट त्यसरी तिरमिराएको छु । ड्याङ्ङ्ग । तिरिमिरी ।
भुकम्प पछि गाउँको मुहार भने अवश्य फेरिएको छ । घरहरु नयाँ बन्नाले बस्ती नै नवीन भएको छ । घरहरु भुकम्प प्रतिरोधी भएका छन् । पानी चुहिएर फेर्ने अबस्थामा पुगेको मेरै घर अहिले नचुहिने भएको छ । बलिया घरहरु बने । घरहरुको बलियोपना कसरी नाप्ने ? डियर भुइँचालो, एकफेर फेरि आइदिने कि यता ? थैट ! भो भो । कष्ट नगरियोस् । तर आइहाले पनि पहिलेजसरी हाम्रो घरलाई बाङ्गो पार्न सक्दैन कि ? थाहा छ भुइँचालो ! हामिले घर बलियो बनाएका छौं नि । पुनर्निमाण कार्यक्रमको सबैभन्दा सुखद पक्ष नै यहि हो । घरहरु भुकम्प प्रतिरोधि बने ।
पुनर्निमाण कार्यमा धन्यवादको मूख्य पात्र नेपाल सरकार हो । भलै मेरा गुनासा धेरै छन् यसका प्रति त्यसैले आलोचनाको मुख्य पात्र पनि यहि हो । नेपाल सरकार जसले क्षतिग्रस्त निजि आवास तथा समग्र पुनर्निमाण गर्न पुननिर्माण प्राधिकरण गठन गरि अनुदान कार्यक्रम ल्यायो यसले जनतालाइ आफ्नो घर बनाउन थोरै भएपनि भर ग¥यो । दातृ निकायहरु जसले पिडितहरुको पिडामा मलम बन्न आर्थिक भौतिक सहायता तथा साझेदारी प्रदान गरे । विभिन्न संघ संस्थाहरु जसले सरकार र जनताका बीच पुल बनी सहजकर्ताका रुपमा काम गर्न सके । घरधनीहरु जसले अनुदान कार्यक्रम अनुसार घरहरु बनाएर महत्वपुर्ण भुमिका निर्वाह गरे, लगायत सबै सम्बद्धहरु धन्यवादका योग्य छन् । त्यसबेला सुनेको मात्र भुकम्प प्रतिरोधि शव्द अहिले घरगाउँलेले पनि सहज अर्थ लाउन सक्ने भएका छन् । उनिहरुका घर नै भुकम्प प्रतिरोधिको अर्थ बोक्दछन् । गाउँ मै दक्ष डकर्मीहरु उत्पादन भएका छन् । स्थानीय सरजम कै उपयोगबाट पनि बलिया संरचना बनाउन सकिन्छ भन्ने सिकाइ भएको छ । प्रविधिको दीगो प्रर्वधन हुन्छ कि त ? जाग्दो आशाकोे श्रेय पनि नेपाल सरकार तथा विभन्न दातृ निकाय अनि संघ संथाहरुलाइ नै जान्छ । यसबखत खटिएका दक्ष प्राविधिक सामाजिक जनशक्तिले फैलाएका ज्ञान् अनमोल छन् । पुनर्निमाणमा जोडिएका यि सबै पक्षहरुको भुमिका अनुपम छन् ।
पुनर्निमाण कार्यक्रम महत्वपुर्ण अवसरका रुपमा उपयोग भएको हुँदाहँुदै हामी सबै चुक्यौं कि भन्ने लाग्छ । मलाई के लाग्छ कि, ‐मलाई मात्र लागेको हो कि तपाईंलाइ पनि लागेको हो मनन् गर्नुस् ।) सबैभन्दा पहिले हामिले हाम्रो मौलिकता गुमायौं । पर्याप्त ज्ञानको कमी, पुनर्निमाण अनुदान कार्यक्रमका सिमितता, थप आर्थिक बोझ थाम्न असमर्थ भुकम्प पिडितका बाध्यता जस्ता कारण साना घरहरु बने । यसमा घरधनीका रहर भन्दा बाध्यता धेरै छन् । पुननिर्माण प्राधिकरणले पनि घरधनीलाइ सोझै अनुदान दिनेभन्दापनि झन्झटिलो प्रक्रियागत लम्बाइ बढाएको अनि प्रसासनिक खर्च अलि बढि गरेकै हो । संयन्त्रको चुस्त परिचालन गर्न नसक्नु, प्राधिकरणको नेतृत्व फेरबदल गरिरहनु सरकारी दोष रह्यो । तैपनि पुनर्निमाण कार्यक्रम सफलतापुर्वक सम्पन्न उन्मुख छ ।
तर, अहिले मैले मेरो गाउँमा केहि चुनौतीहरु पनि देखेको छु । अधिकांश घरधनीहरुका घरले तिनका पारिवारिक, सांस्कृतिक, सामाजिक आवश्यकता नधानेका कारण थप संरचना निर्माण गर्न वाध्य देखिन्छन् । बनिसकेका घरहरुको पनि अनुदान किस्ता प्राप्तिपछि आफुलाइ आवश्यक अनुसार तला थप नहोला भन्न सकिन्न । त्यसरि बन्ने घरहरु पनि भुकम्प प्रतिरोधि नै बन्छन् ? आशंका गर्ने ठाउँहरु छन् । कतिपय घरधनीहरुले निजि आवास पुनर्निमाण कार्यक्रम मार्फत अनुदान लिएर घर बनाएपनि आफ्ना पुराना घर पनि प्रयोगमा ल्याइरहेका छन् । त्यस्ता संरचनाहरु भुकम्पीय जोखिमका दृष्टिकोणले जोखिमयुक्त छन् । त्यस्ता घरहरु प्रयोग भइरहनुमा पनि बिभिन्न बाध्यताहरु जोडिएका छन् । कम्तीमा ती घरहरुले आफ्ना घरका कृषि उपज, डोका, डाला, फुङ्ला, पोका, पन्तेरा, बस्तुभाउ, घाँसपात आदीलाइ ओत दिइरहेका छन् । त्यस्ता चीजबस्तु ओताउन अर्को घर बनाउने क्षेमता पनि छैन । व्यबस्थापकिय चिन्ता नै मूख्य देखिन्छ । मैले मेरै कटेरो नभत्काएजस्तै तिनले आफ्ना सरजमको ‘ओतघर’ किन भत्काउँछन् ! तर, त्यस्ता जोखिमयुक्त घरहरुलाई सम्भाव्यता हेरि भुकम्पीय प्रवलिकरण गर्ने होभने त्यसको बहुपक्षिय फाइदाहरु हुने देखिन्छ । आवश्यकताका हिसावले धान्ने । सामाजिक, साँस्कृतिक मौलिकता जोगिने । आर्थिक बोझ कम हुने । भुकम्पीय जोखिम घटि सुरक्षित समुदाय निर्माण हुने अवस्था सिर्जना हुन सक्दछ । त्यस्ता जोखिमयुक्त घरहरुलाइ सम्भव भएसम्म प्रवलिकरण गरि अन्यलाई हटाउनेतर्फ आवश्यक कदम चाल्नुपर्ने देखिन्छ । राज्यले, नागरिकले विपद जोखिम न्युनिकरणका लागी पुर्वतयारीका कार्यक्रममा सँधै ध्यान पु¥याउनुपर्छ ।
एउटा कुरा मेरो मनमा सँधै घुमिरहन्छ । मेरा हजुरबुवाले आफ्नो पालामा घर बनाउनुभयो । बुवाले त्यसैगरि दुखले बनाउनुभयो । अहिले म निरन्तरता दिँदैछु यसरी पुस्तैनी घर बनाउने शृङ्खलाबद्ध कार्यको । प्रत्येक व्यक्तिले आफ्नो जीवनकालमा एउटा घर बनाउनै पर्ने हो ? हुन त प्रत्येक सांसारिक प्राणीले ‘घरजम’ गर्नु आवश्यक छ । ओ मान्छे ! के तपाइँले घरजम गर्नुभो ? ठुल्ठुलाा घरहरु बनाउनु अचेल समृद्धि कहलिन थाल्यो । के तपाइँ ‘समृद्ध’ हुनुन्छ ? यस्तै हो भने हाम्रो पालामा एउटा घरले नपुग्ने भो । दुइतिन घर बनाउनुपर्ने भो । धान्न सकिन्छ मान्छेहरु ! एउटै घरले पुस्तौं पुस्ता टिक्न,े दीगो आवास निर्माण गरि दीगो बस्ती बसाल्ने तर्फ अबको कदम चाल्न सकिन्न र ? हेल्लो प्राविधिज्ञजन् ! लौ न सकिन्न र ? नत्र हेर्नुस् त हर मानिसले आफ्नो जीवनको महत्वपुर्ण कमाइको हिस्सा घर बनाएरै सक्ने रहेछन् । एउटा पुस्ताले घर बनाउन खर्च गर्न नपर्ने भयो भने देशले कति पुँजि जोगाउँछ ? ए समाजशास्त्रीहरु ! कति जोगाउँछ ? अर्थशास्त्रीहरुले पनि हिसाब गरुन् । धन्यवाद !
—पुष्प खड्का
उ भन्थी -
चरा झैं स्वतन्त्र आकाशमा उड्न पाए !
तर, उ के जानोस्
सबै चरा कहाँ त्यसरी भुर्र उड्न सक्छन् र ?
उ पेन्गुइन चरी पनि त हुन सक्थी !
धुस्रे-फुस्रे नभन त्यो मैलो गाउँलेहरुको पृय रंग हो आफ्नै माटोले रंगाएको । पसिनाका लेग्रालाई- छि ! नभन त्यो मेहनतको सजीव चित्र हो ग्रामीण...